गाजामा रहेका सबै बन्धक रिहा गर्न ट्रम्पको अन्तिम चेतावनी

फाल्गुन २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा रहेका सबै बन्धक रिहा गर्न ट्रम्पको अन्तिम चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमासलाई गाजामा रहेका सबै बन्धक तत्काल रिहा गर्न अन्तिम चेतावनी दिनुभएको छ ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो कुरा नमाने हमासको एउटा पनि सदस्य सुरक्षित नरहने धम्की समेत दिनुभएको छ । 

हमासले हालै मुक्त गरेका बन्धकहरूसँग ह्वाइट हाउसमा भेटेको केही समयपछि पोस्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो । हमासले भने अमेरिकी राष्ट्रपतिले गाजा युद्धविराम भंग गर्न इजरायलाई प्रोत्साहित गरेको आरोप लगाएको छ । हमासको नियन्त्रणमा रहेका बाँकी बन्धक रिहाइका लागि अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको कुरा ह्वाइट हाउसले पुष्टि गरेको केही घण्टापछि ट्रम्पको चेतावनीपूर्ण अभिव्यक्ति आएको हो । 

आफूले आतंककारीको सूचीमा राखेको समूह वा व्यक्तिसँग प्रत्यक्ष सम्पर्क कायम नगर्ने अमेरिकी नीति अनुरूप यसअघिसम्म वासिङ्टनले हमाससँग प्रत्यक्ष वार्ता गरेको थिएन । वरिष्ठ अमेरिकी अधिकारीहरुले गए राति कायरोमा हमासका नेताका साथै इजिप्ट र कतारका प्रतिनिधिसँग वार्ता गरेको र सो वार्ता सकारात्मक भएको इजरायलबाट प्रकाशित हुने सञ्चारमाध्यमले जनाएका छन् । सो वार्ता इजरायल हमासबीच गाजा युद्धविरामलाई दोस्रो चरणमा प्रवेश गराउने दिशामा केन्द्रित रहेको बताइएको छ । 

हमासको नियन्त्रणमा अझै पनि ५९ जना बन्धक रहेको र तीमध्ये कम्तीमा २४ जना जीवित रहेको बताइएको छ । हमासको नियन्त्रणमा रहेका बन्धकमध्ये ५ जना अमेरिकी नागरिक रहेको र तीमध्ये पनि एक जना मात्र जीवित रहेको अपेक्षा गरिएको छ ।

इजरायल र हमासबीच गत जनवरी १९ मा गाजा युद्धविराम भएयता पहिलो चरणअन्तर्गत हमासले ३० जीवित र ८ शव गरी ३८ बन्धकलाई रिहा गरेको थियो । प्रतिउत्तरमा इजरायले १९ सयभन्दा बढी प्यालेस्टिनी कैदी मुक्त गरेको थियो ।

युद्धविरामको पहिलो चरण ४२ दिन अर्थात यही मार्च १ मा सकिएको थियो भने दोस्रो चरणका लागि संवादहरू भए पनि सहमति भने हुन सकेको छैन ।



Enter Kantipur TV HD
Advertisement