काठमाडौं । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले अर्को साता अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग हुने वार्तामा युक्रेनको सम्प्रभुताका बारेमा छलफल गर्ने बताउनुभएको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा स्टार्मरले बेलायतले युक्रेनलाई दिँदै आएको कडा समर्थन पनि दोहोर्याउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रूससँग सम्बन्ध सुधार्ने र युक्रेनमा युद्ध अन्त्य गर्ने निर्णय गरेपछि दुई नेताहरुबीच चार दिनमा दोस्रो पटक टेलिफोन वार्ता भएको हो । स्टार्मर र जेलेन्स्कीबीचको वार्ता युक्रेनको भविष्य र युरोपेली सुरक्षाको लागि महत्वपूर्ण क्षण भएको बताइएको छ ।
स्टार्मरले जेलेन्स्कीलाई युक्रेनको रक्षा गर्दै भविष्यमा रूसबाट हुने आक्रमण रोक्न आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । स्टार्मरले सुरक्षा ग्यारेन्टीको आश्वासन आवश्यक भएको समेत बताउनुभयो । हिजै बेलायती प्रधानमन्त्री स्टार्मरले युरोपेली आयोगका अध्यक्ष उर्सुला भन डेर लेयनसँग पनि टेलिफोन वार्ता गर्नुभएको छ । डाउनिङ स्ट्रिटका अनुसार, दुई नेताबीच युरोपले सामूहिक युरोपेली सुरक्षाको लागि अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री स्टार्मर र फ्रान्सका राष्ट्रिपति इमानुएल म्याक्रोले युक्रेन युद्ध अन्त्यका लागि कुनै काम नगरेको टिप्पणी गर्नुभएको थियो । उहाँले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग शान्ति वार्ताका लागि कुनै कार्ड नभएको बताउनुभएको थियो । गत सोमबार युरोपेली नेताहरूले पेरिसमा आकस्मिक बैठक बोलाएर युक्रेनको भविष्यका बारेमा कुराकानी गरेका थिए ।
यसैबीच, रुसले युक्रेनमा आक्रमण गरेको तेस्रो वर्ष पुगेको समयमा पश्चिमी लन्डनस्थित रूसी दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा करिब २ हजार मानिस सहभागी भएको बताइएको छ ।