अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदै

फाल्गुन ११, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ । लिगको यो अन्तिम खेल हो । दुवै टिम यसअघिनै फाइनल प्रवेश गरिसकेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले कीर्गिस्तान र लेबनान दुवैलाई एक-शून्य गोलले पराजित गरेको हो । कीर्गिस्तानविरुद्ध विमला चौधरी र लेबनानविरुद्ध सावित्रा भन्डारीले गोल गरेका थिए । म्यानमार पनि अपराजित छ । उसले लेबनानमाथि तीन-एक र कीर्गिस्तानविरुद्ध पाँच-शून्य गोलको फराकिलो अन्तरको जित निकालेको थियो । ती खेलमा म्यानमारले आफ्नो दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको थियो । सहभागी चारमध्ये म्यानमार सबैभन्दा बलियो टिम हो ।

फिफा वरीयतामा म्यानमार ५५ र नेपाल १ सय ३औँ स्थानमा छ । नेपालले म्यानमारलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । यो खेलले लिगको शीर्ष स्थानमा रहने टिमको टुंगो पनि लाग्नेछ । दुई खेलबाट ६ अक जोडेको म्यानमार पहिलो र समान अंकका साथ नेपाल दोस्रो स्थानमा छ । यी दुई टिम आगामी बुधबार उपाधिका लागि भिड्नेछन् ।

नेपाल फाइनलअघि म्यानमारलाइ हराएर आफ्नो मनोवल उच्च बनाउन चाहन्छ । दिउँसो दुई बजे लेबनन र कीर्गिस्तान आमनेसामने हुनेछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् ।



Enter Kantipur TV HD
Advertisement