रुस-युक्रेन युद्ध अन्त्यबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्ता सुरू

फाल्गुन ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रुस-युक्रेन युद्ध अन्त्यबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्ता सुरू

काठमाडौं । अमेरिका र रुसबीच रुस-युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा साउदी अरबको राजधानी रियादमा वार्ता भइरहेको छ ।

रियादस्थित अल दिरियाह प्यालेसमा भइरहेको वार्तामा अमेरिकाका तर्फबाट विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि राष्ट्रपति डनल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ सहभागी हुनुहुन्छ । त्यस्तै रुसका तर्फबाट विदेशमन्त्री सेर्गेइ लाभरोभका साथै राष्ट्रपति पुटिनका विदेशनीति सल्लाहकार युरी उषाकोभ वार्तामा सहभागी हुनुहुन्छ ।

साउदी विदेशमन्त्री प्रिन्स फैजल र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिनसमेत वार्ता टेबुलमा उपस्थित रहेको रोयटर्सले जनाएको छ ।

मस्कोले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण अतिक्रमण सुरू गरेयता यो युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष वार्ता हुन लागेको यो पहिलो पटक हो । दुवै देशका विदेशमन्त्री नेतृत्वको टोलीबीच हुन लागेको यो वार्तामा युद्धको अर्को मुख्य पक्ष अर्थात् युक्रेन संलग्न हुनेछैन । यस्तै कुनै युरोपेली मुलुकलाई पनि वार्तामा निम्त्याइएको छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश संलग्न नभएको वार्तामा हुने कुनै पनि सम्झौतालाई मान्यता नदिने स्पष्ट पार्नु भएको छ ।

युक्रेन युद्धसम्बन्धी वार्तामा आफूहरूलाई संलग्न नगराइएकोमा चिन्तित केही यूरोपेली देशले साझा अवधारणा निर्माणका लागि सोमबार पेरिसमा आपतकालीन बैठक गरेका थिए । वार्तापछि यूरोपेली नेताहरूले बिना कुनै शान्ति सम्झौता युक्रेन युद्धविराम नगर्न चेतावनी दिएका छन् । त्यस्तै बेलायती प्रधानमन्त्री केइर स्टार्मरले युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाको सुरक्षा प्रत्याभूति आवश्यक भएको बताउनु भएको छ ।

अमेरिकाले यो वार्ता युद्ध अन्त्यकालागि रुस गम्भीर छ कि छैन भन्ने हेर्ने दिशामा पहिलो कदम भएको बताएको छ । उता रुसले भने यो वार्ताको लक्ष्य अमेरिकासँगको आफ्नो सम्बन्ध सामान्यीकरण गर्ने रहेको बताएको छ । यो वार्ताले ट्रम्प र पुटिनबीच चाँडै हुने भनिएको भेटवार्ताका लागि आधार तयार गर्न सक्ने समेत बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement