काठमाडौं । दुबई टेनिस च्याम्पियनसिपको उपाधि १७ वर्षीया मिरा आन्द्रेभाले जितेकी छन् । रुसकी आन्द्रेभा डेनमार्ककी क्लारा टाउसेनमाथि सोझो सेटको जित हात पार्दै च्याम्पियन बनिन् ।
१७ वर्ष २ सय ९८ दिनकी आन्द्रेभा डब्लुटीए थाउजेन्ड इभेन्टको फाइनल जित्ने सबैभन्दा कान्छी उमेरकी खेलाडी हुन् । यो इभेन्ट सन् २००९ देखि सुरु भएको हो । १२औँ वरीयताकी आन्द्रेभा र ३८औँ वरियताकी क्लारा दुवैको यो पहिलो डब्लुटीए थाउजेन्ड फाइनल थियो । तर उदीयमान खेलाडी आन्द्रेभाले बाजी मारिन् ।
प्रतिस्पर्धात्मक पहिलो सेट टाइब्रेकरमा पुगेको थियो । आन्द्रेभाले ७-६ ले आफ्नो पक्षमा पारिन् । दोस्रो सेटमा उनले क्लारालाई ६-१ ले पराजित गर्दै करियरको दोस्रो उपाधि हात पारिन् । जितपछि आन्द्रेभा डब्लुटीए वरीयताको नवौँ स्थानमा उक्लनेछिन् ।
सन् २००७ यता शीर्ष दशमा पर्ने उनी पहिलो १७ वर्षीया खेलाडी बन्नेछिन् । आन्द्रेभाले दुबईमा खेल जीवनको एक उत्कृष्ट साता बिताइन् । च्याम्पियन बन्नका लागि फाइनलमा उनले एक घन्टा ४६ मिनेट समय खर्चनुपरेको थियो ।