आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित, इंग्ल्यान्ड पाँच विकेटले पराजित

फाल्गुन ११, २०८१ |खेल ब्युरो
आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित, इंग्ल्यान्ड पाँच विकेटले पराजित

काठमाडौं । अस्ट्रेलियाले, आइसीसी च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा इङल्यान्डविरुद्ध पाँच विकेटको किर्तिमानी जित हात पारेको छ । अस्ट्रेलियाले, तीन सय ५२ रनको लक्ष्य चेज गर्दा जस इंग्लिसले शतकिय इनिङस खेले । अस्ट्रेलियाले सन २००९ पछि च्याम्पियन्स ट्रफीमा पहिलो जित हात पारेको हो ।

पाकिस्तानको लाहोर स्थित गद्धाफी स्टेडियममा अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । इङल्यान्डले बेन डकेटको शतक मदतमा ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रनको विशाल योगफल बनायो । फिल सल्ट दश र जेम्मी स्मिथ १५ रनमा आउट भएका थिए । जो रुटले ६८ रन बनाए ।

एडम जाम्पाले रुटलाइ आउट गर्दै अस्ट्रेलियालाइ ब्रेक थ्रु दिलाएका थिए । ह्यारी ब्रुक पनि जाम्पाकै बलमा मात्र तीन रनमा मैदान बाहिरिए । डकेटले १ सय ६५ रनको योगदान गरेपछि इङल्यान्डले च्याम्पियन्स ट्रफी इतिहासको उच्च योगफल बनाएको थियो । डकेटको ओडिआइमा यो तेस्रो शतक हो । मार्नस लाबुसेनको बलमा आउट भएका डकेट च्याम्पियन्स लिगमा सबैभन्दा ठूलो इनिङस खेल्ने पहिलो खेलाडी हुन् ।

लियाम लिविङस्टोनले १४, कप्तान जस बटलरले २३ रन बनाउदा जोफ्रा आर्चर २१ रनमा अविजीत रहेका थिए । बेन ड्वारसिले तीन, जाम्पा र लावुसेनले २-२ विकेट लिए । जवाफमा अस्ट्रेलियाको सुरुवात राम्रो रहेन् । उसले एक सय ३६ रनमा चार विकेट गुमाएको थियो । ट्राभिस हेड ६ र कप्तान स्टिभन स्मिथ पाँच रनमा पभेलियन फर्किए ।

लावुसेनले ४७ र म्याथ्यु सर्ट ६३ रनमा आउट भएका थिए । तर पाँचौ विकेटका लागि इग्लिस र एलेक्स क्यारीले १ सय ४६ रनको साझेदारी गरे । आर्चरले ४९ रनमा क्यारीको क्याट ड्रप गरेका थिए । उनले ६९ रनको योगदान गरे । इङल्यान्डमा जन्मिएर हुर्किएका इग्लिस १ सय २० रनमा अविजीत रहे ।

ओडिआइमा आफ्नो पहिलो शतक प्रहार गर्ने क्रममा उनले ८६ बल खेल्दै आठ चौका र ६ छक्का प्रहार गरेका थिए । ग्लेन म्याक्सवेल १५ बलमा ३२ रन बनाउदै अविजीत रहे । यो आइसीसीको वानडे प्रतियोगितामा यो अहिले सम्मको उच्च रन चेज हो ।



Enter Kantipur TV HD
Advertisement