हमासले चार शव र ६ बन्धक इजरायललाई हस्तान्तरण गर्ने

फाल्गुन ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासले चार शव र ६ बन्धक इजरायललाई हस्तान्तरण गर्ने

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले बिहीबार चार जना बन्धकको शव र शनिबार ६ जना बन्धक इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ । हमासका गाजा प्रमुख तथा मुख्य वार्ताकार खलिल अल हय्याले यस कुराको घोषणा गर्नुभएको हो ।

बिहीबार हस्तान्तरण गरिने चार शवमध्ये तीन जना एकै परिवार अर्थात ‘बिबास फ्यामिली’का रहेका छन् । ती तीन जनामा श्रीमती शिरी बिबास र उनका दुई साना छोरा केफिर बिबास र एरिएल बिबासको शव रहेको बताइएको छ । 

२०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले बन्धक बनाउँदा केफिरको उमेर जम्मा ९ महिना र एरियलको उमेर चार वर्ष रहेको थियो । केफिर हमासले अपहरण गरेका सबैभन्दा कलिलो उमेरका बन्धक हुन् । यी तिनै जना इजरायली सेनाले गरेको बमबारीमा २०२३को नोभेम्बरमै मारिएको आरोप हमासले लगाउँदै आएको छ । 

यी बालकका पिता तथा शिरीका श्रीमान यार्डेन बिबासलाई पनि हमासले बन्धक बनाएकोमा उनलाई यसै महिनाको सुरूमा मुक्त गरेको थियो । यार्डेनलाई हमासले परिवारसँगै नभई बेग्लै स्थानबाट आफ्नो नियन्त्रणमा लिएको थियो ।

यस्तै हमासले शनिबार पूर्व निर्धारितभन्दा दोब्बर अर्थात ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ । हमासले शनिबार रिहा गर्ने ६ बन्धकमध्ये दुई जना भने २०१४ र २०१५ मा गाजाभित्र प्रवेश गरेपछि हमासले बन्धक बनाएका इजरायली नागरिक रहेको जनाइएको छ । अन्य चार जना भने २०२३ को अक्टोबर आक्रमणका क्रममा बन्धक बनाइएका इजरायली नागरिक रहेका छन् । इजरायल सरकारले पनि शनिबार रिहा हुने भनिएका बन्धकको नाम पुष्टि गरेको छ ।

इजरायलले चलायमान घर ‘मोबाइल होम’ र निर्माण उपकरण गाजाभित्र प्रवेश गर्न दिने सहमति जनाएपछि हमासले निर्धारितभन्दा दोब्बर जीवित बन्धक रिहा र चार मृत बन्धकको शव हस्तान्तरण गर्न सहमति जनाएको बताइएको छ ।

जनवरी १९ देखि गाजा युद्धविराम सुरू भएयता हमासले ६ पटकमा गरी अहिले सम्म १९ इजरायली र ५ थाई गरी २४ जना बन्धकलाई रिहा गरिसकेको छ । प्रत्युत्तरमा इजरायलले ११ सय ३५ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।



Enter Kantipur TV HD
Advertisement