हमासद्वारा चार जना इजरायली बन्धकको शव हस्तान्तरण

फाल्गुन ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासद्वारा चार जना इजरायली बन्धकको शव हस्तान्तरण

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । गाजामा एक कार्यक्रमको आयोजना गरी उसले ती शव रेडक्रसलाई हस्तान्तरण गरेको हो । 

गत जनवरी १९ मा गाजा युद्धविराम सुरू भएयता हमासले मृत बन्धक रिहा गरेको यो पहिलो घटना हो । रेडक्रसले ती शव गाजामै रहेको इजरायली सेनालाई हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । हमासका अनुसार हस्तान्तरण गरिएका चार शवमध्ये तीन जना एकै परिवार अर्थात बिबास फ्यामिलिका रहेका छन् । ती तीन शवमा आमा शिरी बिबास र उनका दुई साना छोरा केफिर बिबास र एरिएल बिबासको शव रहेको बताइएको छ । 

२०२३ को अक्टोबर ७ को आक्रमणका क्रममा हमासले बन्धक बनाउँदा केफिरको उमेर जम्मा ९ महिना र एरियलको उमेर चार वर्ष रहेको थियो । केफिर हमासले अपहरण गरेका सबैभन्दा कलिलो उमेरका बन्धक हुन् । यी तीनै जना इजरायली सेनाले गरेको हवाई आक्रमणमा २०२३ को नोभेम्बर मै मारिएको आरोप हमासले लगाउँदै आएको छ । 

शव हस्तान्तरण कार्यक्रममा राखिएको ब्यानरमा समेत उनीहरूको मृत्यका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उहाँको सेना जिम्मेवार रहेको आरोप लगाइएका वाक्य लेखिएको थियो ।

यी बालकका पिता तथा शिरीका श्रीमान यार्डेन बिबासलाई पनि हमासले बन्धक बनाएकोमा उनलाई यसै महिनाको सुरूमा मुक्त गरेको थियो ।

हमासले मुक्त गरेको चौथो शव ८४ वर्षीय पुराना र अनुभवी शान्ति अभियानकर्मी ओडेड लिफ्स चिट्जको रहेको जनाइएको छ ।

हमासले पर्सि शनिबार थप ६ जना बन्धक रिहा गर्ने जनाएको छ । शनिबार रिहा गर्ने ६ बन्धकमध्ये दुई जना २०१४ र २०१५ मा गाजाभित्र प्रवेश गरेपछि हमासले बन्धक बनाएका इजरायली नागरिक रहेको जनाइएको छ । अन्य चार जना भने २०२३ को अक्टोबर आक्रमणका क्रममा बन्धक बनाइएका इजरायली नागरिक रहेका छन् ।

जनवरी १९ मा गाजा युद्धविराम सुरू भएयता हमासले आज समेत गरी २४ जना जीवितै र चार जना मृत बन्धकको शव रिहा गरेको छ ।



Enter Kantipur TV HD
Advertisement