वैकल्पिक शक्ति पारदर्शी र जवाफदेही हुन नसक्दा दिल्लीमा केजरीवालको ओरालो यात्रा

भाजपाले छान्ने नयाँ मुख्यमन्त्रीमा सबैको चासो
माघ २७, २०८१ |हरहरि उपाध्याय
वैकल्पिक शक्ति पारदर्शी र जवाफदेही हुन नसक्दा दिल्लीमा केजरीवालको ओरालो यात्रा

काठमाडौं । दिल्ली विधानसभा निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी (आप)ले लज्जाजनक हार बेहोरेको छ । ७० सिटको विधानसभाका अघिल्ला दुई निर्वाचनमा लगातार अत्यधिक बहुमतका साथ विजयी भएको आप यस पटक भने २२ सिटमा खुम्चिएको छ ।

यस्तै ४८ सिट जित्दै भारतीय जनता पार्टी (बीजेपी) २७ वर्षपछि पुनः दिल्लीको नेतृत्वमा फर्किएको छ । आपका राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल आफैंले पनि यो निर्वाचनमा पराजय भोग्नु परेको छ । आपको यो पराजयको कारणबारे विभिन्न कोणबाट विश्लेषण गरिएका छन् । केजरीवालका पुराना मित्रहरूले आपको यो पराजयका लागि स्वयं केजरीवाल नै जिम्मेवार भएको आरोप लगाएका छन् ।

भाजपाको सत्तारोहणको तयारीसँगै नयाँ मुख्यमन्त्री को हुने भन्ने चासो सर्वत्र देखिएको छ ।

आपका हाल निष्कासित सहसंस्थापक तथा कानुन व्यवसायी प्रशान्त भूषणले सामाजिक सञ्जाल (एक्स)मा पोस्ट गर्दै लेखेका छन्- वैकल्पिक राजनीतिका लागि स्थापित दल जो पारदर्शी, जवाफदेही तथा लोकतान्त्रिक हुनुपर्ने थियो त्यसलाई केजरीवालले एक व्यक्ति केन्द्रित, अपारदर्शी र भ्रष्ट पार्टीमा रूपान्तरण गरे । उनले आफ्ना लागि ४५ करोड खर्च गरेर शीशमहल निर्माण गरे र विलासी कारमा शयर गर्न थाले । उनले मिथ्या प्रचारबाजी र गर्जनाले राजनीति गर्न सकिन्छ भन्ने सोचे । यो आपको अन्त्यको प्रारम्भ हो ।

के प्रशान्त भूषणले आरोप लगाए झैं केजरीवालकै दम्भ र अलोकतान्त्रिक व्यवहारका कारण आपले दिल्लीमा चुनाव हारेको हो त ?

सन् २०११ को अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको आम आदमी पार्टी स्वयं मदिरा नीति घोटाला प्रकरणमा फस्यो र मुख्यमन्त्री केजरीवाल, उपमुख्यमन्त्री मनीष सिसौदिया लगायतका केही नेता जेल परे । उनीहरूमाथिको आरोप प्रमाणित हुन नसके पनि जनतामा भने उनीहरूप्रति शंका जन्मायो । त्यसमाथि मुख्यमन्त्री निवासको पुन:सौन्दर्यीकरणमा ४५ करोड रुपैयाँ खर्चेर त्यसलाई शीशमहलका रूपमा परिणत गरेको आरोप पनि केजरीवालमाथि लाग्यो ।

यस्तै केन्द्र सरकारसँगको टकरावपूर्ण र पीडितको राजनीतिले पनि केजरीवाललाई घाटा लागेको विश्लेषण गरिएको छ । यस्तै मध्यमवर्गीय जनताले यस पटक आम आदमी पार्टीको सट्टा बीजेपीलाई मत दिनु आपको पराजयको अर्को कारण भएको बताइएको छ । यही फेब्रुअरीमा बजेट मार्फत् मोदी सरकारले मध्यमवर्गलाई आयकरमा ठूलो राहत दिएको र त्यसको प्रतिफल दिल्ली विधानसभा निर्वाचनमा देखिएको विश्लेषण गरिएको छ ।

लोकसभा निर्वाचनमा कंग्रेससँग एउटै आईएनडीआईए (इन्डिया) गठबन्धनमा रहेको आम आदमी पार्टीले दिल्ली निर्वाचनमा कंग्रेससँग गठबन्धन नगर्नु पनि उसको हारको एक अर्को मुख्य कारकका रूपमा देखिएको छ । दिल्ली विधानसभा निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न नसके पनि उसले पाएको मत र आपका उम्मेदवारको हारलाई हेर्दा कम्तीमा १४ सिटमा कांग्रेसले मत काटेका कारण आपका उम्मेदवार बीजेपीसँग पराजित भएको तथ्यांकले देखाएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

स्वयं केजरीवाल लडेको नयाँदिल्ली निर्वाचन क्षेत्रमा उनी बीजेपीका प्रवेश वर्मासँग ४ हजार ८९ मतले पराजित भएका छन् जबकि कंग्रेसका उम्मेदवार सन्दीप दीक्षितले त्यहाँ ४ हजार ५६८ मत पाएका छन् । यो मत बर्मासँग केजरीवालको पराजयको अन्तरभन्दा ४७९ ले बढी हो ।

यसका अतिरिक्त शिक्षा स्वास्थ्य र सार्वजनिक सेवाका क्षेत्रमा निकै प्रशंशनीय काम गरे पनि २०१३ देखि सत्ता सञ्चालन गर्दै आएको आम आदमी पार्टीविरुद्ध एन्टी इन्कमबेन्सी अर्थात् सत्ताधारी विरोधी सोचले पनि काम गरेको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसमाथि केन्द्रमा सरकार चलाइरहेको बीजेपीको दिल्ली विधानसभा जसरी पनि कब्जामा लिने रणनीति, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका शीर्ष नेताको आक्रामक प्रचार प्रसार र बीजेपी स्थानीय कार्यकर्ताको मिहिनेतले पनि आपको पराजयमा भूमिका खेलेको देखिन्छ ।

- एजेन्सीहरूको सहयोगमा


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement