हमासले थप तीन जना इजरायली बन्धकलाई आज रिहाइ गर्दै

माघ २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासले थप तीन जना इजरायली बन्धकलाई आज रिहाइ गर्दै

काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले आज थप तीनजना इजरायली बन्धकलाई रिहा गर्दैछ । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत पाँचौं चरणमा हमासले तीनजना इजरायली बन्धक रिहा गर्न लागेको हो ।

रिहा गर्ने व्यक्तिको नाम हमासले इजरायली पक्षलाई बुझाइसकेको छ भने इजरायली प्रधानमन्त्री कार्यालयले पनि सूची प्राप्त भएको जनाएको छ । आज हमासद्वारा रिहा हुने बन्धकहरू ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभी रहेको बीबीसीले जनाएको छ ।

यसमध्ये अमी र शराबीलाई अक्टोबर २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको हमलामा किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो भने ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो ।

बदलामा इजरायलले १ सय ८३ प्यालेस्टिनी बन्दी रिहा गर्ने सम्भावना रहेको हमास मिडिया कार्यालायले जनाएको छ । तीमध्ये १८ जना आजीवन कारावास भागिरहेका छन् भने ५४ जनाले लामो जेल सजाय भागिरहेको बताइएको छ । यस्तै १ सय ११ जनालाई युद्ध चलिरहेका बेला इजरायली सेनाले बन्दी बनाएको हो । 

हमासले इजरायललाई युद्धविराम सहमतिअुनसार खाद्यान्न र अन्य मानवीय आपूर्तिका सामान बोकेका सयौं ट्रक प्रवेशमा ढिलाइ गरेको र बम विस्फोटबाट ध्वस्त भएका घरमा फर्कने मानिसहरूलाई आश्रय प्रदान गर्ने पालबाहेक सबै कुरा रोकेको आरोप लगाउँदै बन्धक रिहाइको सूची सार्वजनिक गर्न ढिलाइ गरेको थियो ।

१९ जनवरीबाट लागू भएको युद्धविराम सम्झौत अन्तर्गत चार पटकमा हमासले पाँच थाइ नागरिकसहित १३ इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले बदलामा ३ सय ८३ बन्दी रिहाइ गरिसकेको बीबीसीले जनाएको छ । ४२ दिनसम्म चल्ने पहिलो चरणको युद्धविराममा हमासले ३३ बन्धक रिहा गर्ने र बदलामा इजरायलले १ हजार ९ सय ४ जना बन्दीलाई छाड्ने सहमति भएको हो । ३३ मध्ये ८ जनाको मृत्यु भइसकेको इजरायली पक्षले दाबी गर्दै आएको छ । पहिलो चरणको सहमति कार्यान्वयन भए दोस्रो र तेस्रो चरणको वार्ता सुरु हुने बताइएको छ । जसमा पूर्ण युद्धविराम र गाजा पुनर्निर्माणमा सहमति जुटाइनेछ ।



Enter Kantipur TV HD
Advertisement