ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

माघ २५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत–आइसीसीमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

अदालतले गत नोभेम्बरमा गाजा युद्धलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र पूर्व रक्षामन्त्री योभ ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि ट्रम्पको यो आदेश आएको हो ।

ट्रम्पको कार्यकारी आदेशले अमेरिकी, अमेरिकी सहयोगी र उनका परिवारका सदस्यविरुद्धको अनुसन्धानमा मद्दत गर्ने आइसीसीका कर्मचारीमाथि आर्थिक र भिसा–सम्बन्धि प्रतिबन्ध लगाइने दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अमेरिका र उसका सहयोगीलाई लक्षित गरेकोमा आईसीसीमाथि प्रतिबन्ध लगाइएको जारी गरिएको दस्तावेजमा भनिएको छ । अदालतलाई अमेरिका र इजरायल दुवैलाई लक्षित गरी ‘अवैध र आधारहीन कार्य’मा संलग्न भएको ट्रम्पले आरोप लगाउनुभएको छ ।

आईसीसीले वैध आधार बिना नै अमेरिका र इजरायल लगायत केही सहयोगी राष्ट्रका कर्मचारीमाथि प्रतिबन्ध लगाएर प्रारम्भिक अनुसन्धान खोलेको र इजरायली प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीलाई लक्षित गरी आधारहीन पक्राउ पुर्जी जारी गरेर आफ्नो शक्तिको थप दुरुपयोग गरेको भन्दै ट्रम्पले यस्तो कदम चाल्नुभएको बताइएको छ ।

अमेरिका वा इजरायल आईसीसीको कुनै क्षेत्राधिकार भित्र नपर्ने भएपनि अदालतले दुवै देशविरुद्ध गरेको कारबाहीले ‘खतरनाक उदाहरण’ स्थापित गरेको जारी आदेशमा भनिएको छ।

ट्रम्पले प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि आइसीसीको सम्पत्ति रोक्का हुने, आईसीसीका अधिकारी, कर्मचारी र आफन्तलाई अमेरिका प्रवेश गर्न अनुमति नदिने विषय समावेश हुने बताइएको छ । आइसीसीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।



Enter Kantipur TV HD
Advertisement