बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको ऐतिहासिक निवासमा आक्रमण

माघ २४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको ऐतिहासिक निवासमा आक्रमण

काठमाडाैं । बंगलादेशमा प्रदर्शनकारीहरुले राजधानी ढाकास्थित संस्थापक शेख मुजिबुर रहमानको ऐतिहासिक निवासमा आक्रमण गरेका छन् । संग्रहालय बनाइएको रहमान निवासमा प्रदर्शनकारीहरुले बुलडोजरमार्फत् तोडफोड तथा आगजनी गरेको बताइएको छ ।

अपदस्थ प्रधानमन्त्री शेख हसिनाले अनलाइनमार्फत् सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन् ।

भेदभावविरुद्ध विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका प्रदर्शनकारीले सामाजिक सञ्जालमा ‘बुलडोजर र्‍याली’ को आह्वान गरेपछि संस्थापक रहमानको निवास अगाडि हजारौं मानिस भेला भएर आक्रमण गरेको बताइएको छ । उक्त स्थानलाई बंगलादेशको स्वतन्त्रता आन्दोलनको प्रतीकात्मक स्थलसमेत मानिन्छ। आन्दोलनका प्रमुख आयोजक अब्दुल हन्नान मसूदले फेसबुकमार्फत सबै पूर्व अवामी लिग सांसद र मन्त्रीहरूको आवास भत्काउन आह्वान गर्दै ती स्थलमा नयाँ भवन निर्माण गर्ने प्रस्ताव राख्नुभएको छ ।

यसअघि सो फोरमका संयोजक हसनत अब्दुल्लाहले हसिनाको भाषणले उहाँको एजेन्डा प्रवर्द्धन हुन सक्ने भन्दै बंगलादेशका सञ्चारमाध्यमलाई हसिनाको सम्बोधन प्रसारण नगर्न चेतावनी दिनुभएको थियो ।

यता, अवामी लिगको विद्यार्थी संगठन छात्र लिगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै हसिनाले देशवासीलाई एकताबद्ध भएर वर्तमान शासनको प्रतिरोध गर्न आह्वान गर्नुभएको छ । हसिनाले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको शासनलाई इंगित गर्दै लाखौं मानिसहरूको बलिदानबाट प्राप्त भएको मुलुकको राष्ट्रिय झण्डा, संविधान र स्वतन्त्रतालाई नष्ट गर्न नसक्ने दाबी गर्नभयो ।

प्रदर्शनकारीले भवन भत्काउने सक्ने तर इतिहासलाई नसक्ने भन्दै हसिनाले अभिव्यक्ति दिनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement