अमेरिकापछि विश्व स्वास्थ्य संगठनबाट अलग हुँदै अर्जेन्टिना

कोभिड-१९ महामारीका बेला लकडाउन गरेका कारण अलग्गिने निर्णय : राष्ट्रपति जेभीयर मिलेई
माघ २४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकापछि विश्व स्वास्थ्य संगठनबाट अलग हुँदै अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले संयुक्त राष्ट्रसंघको एजेन्सीसँगको गहिरो मतभेदका कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट आफ्नो देश बाहिरिने घोषणा गर्नुभएको छ । राष्ट्रपति मिलेईका प्रवक्ता म्यानुयल एडोर्नीले उक्त विषयमा जानकारी दिनुभएको हो ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा पुनरागमन गरेपछि पहिलो दिनमै अमेरिका डब्ल्यूएचओबाट अलग हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेको केहि दिनपछि अर्जेन्टिनाले यस्तो घोषणा गरेको हो । ब्युनस आयर्समा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एडोर्नीले अर्जेन्टिनाको निर्णय कोभिड-१९ महामारीका बेला डब्ल्यूएचओद्वारा स्वास्थ्य व्यवस्थापनमा गरिएको गहिरो मतभेदमा आधारित रहेको स्पष्ट पार्नुभएको छ ।

त्यस बेला डब्ल्यूएचओले जारी गरेको दिशानिर्देशले मानवजातिको इतिहासमा सबैभन्दा ठूलो लकडाउन निम्त्याएको कारण पनि अलग्गिने निर्णय गरिएको प्रवक्ता एडोर्नीको भनाइ छ । प्रवक्ताका अनुसार अर्जेन्टिनाले कुनै पनि अन्तर्राष्ट्रिय संस्थालाई स्वास्थ्य क्षेत्रमा सहित आफ्नो सार्वभौमिकतामा हस्तक्षेप गर्न अनुमति दिँदैन ।

अर्जेन्टिनी मिडियाका अनुसार राष्ट्रपति मिलेईले आगामी दिनमा डब्ल्यूएचओबाट अलग हुने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपतिको हस्ताक्षरपछि अर्जेन्टिना डब्ल्यूएचओबाट बाहिरिने प्रक्रिया सुरू हुनेछ । कुनै मुलुकलाई इंगित नगर्दै राष्ट्रपतिका प्रवक्ताले डब्ल्यूएचओमा स्वतन्त्रताको कमी रहेको समेत आरोप लगाउनुभएको छ ।

यस्तै राष्ट्रपति मिलेई अन्य अन्तर्राष्ट्रिय निकाय वा सन्धिबाट पछि हट्ने योजना बनाएका छन् भनेर पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफमा प्रवक्ताले योजनाका विषयलाई अस्वीकार भने गर्नुभएन ।

अर्जेन्टिनाले अलग हुने घोषणा गरेका विषयमा डब्ल्यूएचओले विचार गरिरहेको बताइएको छ । कुनै पनि मुलुक डब्ल्यूएचओबाट अलग भए पनि ती मुलुकमाथि कुनै प्रकारको कारबाही गर्ने अधिकार भने छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कदममा विश्वका नेताहरू चल्दा डब्ल्यूएचओको विश्वसनीयतामै ठूलो धक्का लाग्ने टिप्पणी भइरहेको छ । डब्ल्यूएचओका सबैभन्दा ठूलो दाता अमेरिका हो । अमेरिका अलग्गिने निर्णयले डब्ल्यूएचओमा वित्तीय संकट निम्तिन सक्ने बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement