काठमाडौं । भारतको नयाँ दिल्ली विधानसभा निर्वाचनका लागि आज मतदान हुँदैछ । भारतीय निर्वाचन आयोगका अनुसार मतदान ७ बजेबाट सुरू हुनेछ भने बेलुका ६ बजेसम्म चल्नेछ ।
निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने ३० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
दिल्लीमा रहेको ७० वटै विधानसभा सिटका लागि आजै मतदान हुनेछ । जसका लागि ६९९ उम्मेदवार मैदानमा छन् । यीमध्ये ९६ जना महिला रहेको बताइएको छ ।
दिल्ली विधानसभा निर्वाचनको मतदानका लागि १३ हजार ७६६ मतदान केन्द्र निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतदानका लागि एक करोड ५६ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने बताइएको छ ।
यसका पटकको चुनावी मैदानमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, आपका नेता मानिस सिसोडियामाथि सबैको नजर हुनेछ भने भारतीय जनता पार्टीबाट उम्मेदवार भएका परवेश वर्मा र कंग्रेस उम्मेदवार भएका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
दिल्लीको ७० वटै सिटमा आम आदमी पार्टी र कंग्रेसले आफ्नो उम्मेदवार उतारेका छन् भने भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवार मैदानमा उतारेको बताइएको छ । लोकसभाका लागि केजरीवाल नेतृत्वको आम आदमी पार्टी र कंग्रेस एउटै गठबन्धनमा रहेपछि विधानसभा निर्वाचनका लागि दुवै एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
दिल्लीका विधानसभामा सन् २०१५ र २०२० गरी दुई पटक एकल बहुमत ल्याएको केजरीवाल नेतृत्वको आम आदमी पार्टीले भने तेस्रो पटक एकल बुहमत ल्याउने दाउमा छ भने सन् २०२० मा ८ सिटमा सीमित भएको भाजपा भने ६० सिट आउने विश्वास व्यक्त गरिरहेको छ । यस्तै दिल्लीमा १० वर्षदेखि सिटविहीन रहेको कंग्रेसले भने यसपटक खाता खोल्ने गरी मैदानमा उत्रिएको छ । आज हुने मतदानको नतिजा भने फेब्रअरी ८ मा सार्वजनिक हुने बताइएको छ ।