क्यानाडा र मेक्सिकोमाथि अमेरिकाले निर्धारण गरेको २५ प्रतिशत कर एक महिनालाई स्थगित

माघ २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानाडा र मेक्सिकोमाथि अमेरिकाले निर्धारण गरेको २५ प्रतिशत कर एक महिनालाई स्थगित

काठमाडौं । अमेरिकाले छिमेकी मुलुक मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउने निर्णय एक महिनाका लागि स्थगित गरेको छ । राष्ट्रपति डनल्ड ट्रम्पले मंगलबार मध्यरातदेखि लागू हुने गरी दुई मुलुकमाथि २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनाबाउमका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पसँगको फोन वार्तापछि अमेरिकाले घोषणा गरेको नयाँ कर एक महिनासम्मका लागि स्थगित गरिएको हो । ह्वाइट हाउसले पनि उक्त विषयको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

फोन वार्ताका क्रममा मेक्सिकोकी राष्ट्रपति सिनाबाउमले लागूऔषध ओसारपोसार, अवैध आप्रवासनलाई अमेरिका प्रवेशमा रोक्न सीमामा करिब १० हजार राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै उत्तरी सीमालाई बलियो बनाउने प्रतिबद्धता जनाएपछि ट्रम्पले घोषणा गरेको कर एक महिनाका लागि स्थगित भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले समेत अवैध रुपमा मेक्सिको प्रवेश हुने हातहतियारमाथि कडा प्रतिबन्ध लगाउने आश्वासन दिनुभएको बताइएको छ ।

उता, ट्रम्पसँगको फोन वार्तामा क्याडनाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तरी सीमामा कडाइ गर्ने र ‘फेन्टानिल जार’ नियुक्त गर्ने आश्वासन दिएपछि क्यानडामाथि लगाइएको २५ प्रतिशत अतिरिक्त कर पनि तत्कालका लागि स्थगित गरिएको छ ।

यसअघि मेक्सिको र क्यानडाले अवैध आप्रवासी र फेन्टानिल प्रवाहलाई नरोकेसम्म ती दुई मुलुकले २५ प्रतिशत करको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी थियो ।

जवाफमा क्यानडा र मेक्सिकोले सोही मात्रामा अमेरिकी वस्तुमाथि थप कर लगाउने बताएका थिए । चीनमाथि अमेरिकाले लगाएको अतिरिक्त १० प्रतिशत कर भने सम्भवतः आज मध्यरातबाट लागू हुनेछ । 

यी तीनवटै देश अमेरिकाका ठूला व्यापार साझेदार हुन् । सन् २०२२ मा चीन, मेक्सिको र क्यानडाले क्रमशः ५ सय ३६, ४ सय ५५ र ४ सय ३७ अर्ब डलर बराबरको सामान अमेरिका निर्यात गरेका थिए ।