युक्रेनसँग वार्ताका लागि तयार नभए रुसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

माघ ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनसँग वार्ताका लागि तयार नभए रुसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न रुसी राष्ट्रपति भ्लादिमीर पुटिन तयार नभए रुसमाथि अमेरिकी प्रतिबन्ध अझ बढाउने चेतावनी दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुटिनलाई यस्तो चेतावनी दिनुभएको हो । 

ट्रम्पले सम्भावित प्रतिबन्धबारे कुनै विस्तृत विवरण दिनुभएको छैन । यसअघि पनि अमेरिकाले रूसमाथि विभिन्न प्रतिबन्धहरू लगाइसकेको छ भने युरोप तथा अमेरिकामा रहेका रुसी सम्पत्तिसमेत जफत गरिसकेको छ ।

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र चाँडै पुटिनसँग पनि कुरा गर्ने स्पष्ट पार्नुभयो । साथै उहाँले अमेरिकामा सक्षम राष्ट्रपतिको अभावका कारण रुस र युक्रेनबीच युद्ध सुरु भएको र लाखौँ मानिसले अनाहकमा ज्यान गुमाएको भन्दै बाइडन प्रशासनलाई आरोप पनि लगाउनुभयो । आफ्नो प्रशासनले पनि युक्रेनमा हतियार पठाउने मुद्दालाई हेरिरहेको र युरोपेली संघ–इयुले पनि युक्रेनलाई समर्थन गर्न थप काम गर्नुपर्ने विषयमा ट्रम्पले जोड दिनुभयो । युरोपेली संघले अमेरिकाको तुलनामा युक्रेनलाई कम आर्थिक सहयोग दिएको आरोप लगाउँदै उहाँले यसलाई बढाएर अमेरिका बराबर २ सय अर्ब डलरको सहयोग दिन पनि सुझाउनुभएको छ ।

यस्तै ट्रम्पले नेटो देशले सुरक्षा खर्च २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्या‍उनुपर्ने सुझाउनुभएको छ । यस्तै आफ्नो कार्यकालमा रुसले युक्रेनमा आक्रमण गर्ने आँट नगर्ने ट्रम्पको दाबी छ । तार शान्तिका लागि दुवै पक्ष वार्तामा आउनुपर्ने उहाँको भनाइ छ ।

यसैबीच ट्रम्पको शपथलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच युक्रेन युद्धको अन्त्य, ताइवान र नयाँ अमेरिकी प्रशासनसँगको सम्बन्धबारे छलफल भएको बताइएको छ । दुई नेताले व्यापार, उर्जा र वैश्विक स्थिरताका मुद्दामा दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउने विषयमा संकल्प लिएका छन् ।

यस्तै क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले रूस अमेरिकासँग सम्मानजनक सम्बन्ध राख्न चाहेको स्पष्ट पार्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement