जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको कार्यकारी आदेश विरुद्ध २२ राज्य र नागरिक अधिकार समूह अदालतमा

संविधानको उल्लंघन भएको तर्क
माघ ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको कार्यकारी आदेश विरुद्ध २२ राज्य र नागरिक अधिकार समूह अदालतमा

काठमाडौं । अमेरिकामा डेमोक्र्याटिक पार्टीको नेतृत्वमा भएका २२ राज्य र नागरिक अधिकार समूहहरूले जन्मसिद्ध नागरिकता प्राप्तिको अधिकार रोक्ने गरी नवनियुक्त राष्ट्रपति डनल्ड ट्रम्पद्वारा जारी कार्यकारी आदेशको विरोधमा अदालतमा मुद्दा दर्ता गराएका छन् । सोमबार राष्ट्रपति पदको शपथ लिए लगत्तै ट्रम्पले आमा वा बुवामध्ये कोही पनि अमेरिकी नागरिक नभएको वा अमेरिकाको वैधानिक स्थायी बासिन्दा नभएको व्यक्तिबाट जन्मिएका सन्तानलाई जन्मसिद्ध नागरिकता दिने कार्य बन्द गर्न कार्यकारी आदेश जारी गर्नुभएको थियो । 

डेमोक्र्याट नेतृत्वका २२ राज्यका साथै राजधानी जिल्ला डिस्ट्रिक्ट अफ कोलम्बिया र सन फ्रान्सिस्को शहरले बोस्टन र सिएटलस्थित संघीय अदालतमा ट्रम्पले अमेरिकी संविधानको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ । यसैगरी अमेरिकन सिभिल लिबर्टी युनियन, आप्रवासन संस्थाहरू र एक जना गर्भवती महिलाले पनि अदालतमा यस्तै प्रकृतिका दुई मुद्दा दर्ता गराएका छन् । 

मुद्दामा ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औं संशोधनले गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी व्यवस्थाको उल्लंघन गर्ने दाबी गरिएको छ । अदालतमा जाहेरी दिनेहरूले जन्मसिद्ध अमेरिकी नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले सन् १९९८ मा दिएको आदेशलाई नजिरका रूपमा प्रस्तुत गरेको जनाइएको छ । उक्त आदेशमा अदालतले गैरअमेरिकी नागरिकबाट अमेरिकामा जन्मेका सन्तान पनि नागरिकताको हकदार रहेको निर्णय दिएको थियो ।

म्यासाचुसेट्सकी महान्यायाधिवक्ता एन्ड्रिया क्याम्पबेलले एक विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त अधिकार खोस्ने ट्रम्पसँग कुनै अधिकार नभएको बताउनुभएको छ । ट्रम्पको कार्यकारी आदेश कायम रहेको अवस्थामा अमेरिकामा बर्सेनि जन्मिने एक लाख ५० हजारभन्दा बढी शिशु नागरिकताको अधिकारबाट वञ्चित हुने जनाइएको छ ।

यसरी मुद्दा दर्ता गर्ने २२ राज्यहरूमा एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेन, मेरिल्यान्ड, म्यासाचुसेट्स, मिशिगन, मिनेसोटा, नेभाडा, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, नर्थ क्यारोलाइना, ओरेगन, रोडे आइल्याण्ड, भर्मोन्ट, वासिङ्गटन र विस्कनसिन रहेका छन् ।



Enter Kantipur TV HD
Advertisement