अमेरिकी नवनियुक्त विदेशमन्त्री रुबियोद्वारा ‘क्वाड’का प्रतिनिधिसँग भेटवार्ता

माघ ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी नवनियुक्त विदेशमन्त्री रुबियोद्वारा ‘क्वाड’का प्रतिनिधिसँग भेटवार्ता

काठमाडौं । अमेरिकामा राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेको एक दिनपछि विदेशमन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएका मार्को रुबियोले विदेश मन्त्रालयमा चार देश सम्मिलित समूह ‘क्वाड’ का प्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको छ ।

समूह ‘क्वाड’मा भारत, अमेरिका, जापान र अस्ट्रेलिया समावेश छ । इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र प्रभावका विषयमा चार देशका विदेशमन्त्रीले छलफल गरेका हुन् ।

भेटवार्ताको क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले खुला र स्वतन्त्र इन्डो प्यासिफिक क्षेत्रका लागि भारत, जापान र अस्ट्रेलियासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै इन्डो प्यासिफिकमा चीनको बढ्दो आक्रमकता प्रति क्वाड सदस्यहरुबीच सहकार्य हुने विषय विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार वटै मुलुकका विदेशमन्त्रीले विधिको शासन, भौगोलिक अखण्डता, सार्वभौम सत्ताको सुरक्षाका निम्ती सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो क्षेत्रमा बल प्रयोगमार्फत यथास्थितीलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको कडा निन्दा गर्ने बताइएको छ । यस्तै रुबियोले चारै मुुलुकका विदेशमन्त्रीसँग छुटाछुटै वार्ता समेत गर्नुभएको छ ।

उक्त बैठकले नयाँ अमेरिकी प्रशासनका लागि बेइजिङको प्रतिरोध गर्नु सर्वोच्च प्राथमिकता हो भन्ने संकेत गर्न डिजाइन गरिएको विश्लेषकहरूको भनाइ छ । ट्रम्पले भने आफ्नो पहिलो दिन मै चीनमाथि कर लगाउन विचार गरिरहेको बताउनुभएको छ । नयाँ प्रशासनद्वारा आह्वान गरिएको क्वाड बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा घनिष्ठ सहयोगको लागि प्रतिबद्धता देखाएको अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले दाबी गर्नुभयो । समूहले आपूर्ति र समुद्रमुनि केबलसहित महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न साइबर सुरक्षामा सहयोग अगाडि बढाउने वाचा पनि गरेको बताइएको छ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले समेत इन्डो–प्यासिफिक क्षेत्रमा बेइजिङको सैन्य र आर्थिक गतिविधिलाई केन्द्रमा राखेर धेरै पटक क्वाड समूहसँग भेटवार्ता गर्नुभएको थियो ।

चीनले क्वाडलाई एसियाली राष्ट्रलाई घेर्न र यसलाई शीतयुद्धको निर्माणका लागि डिजाइन गरिएको भन्दै निन्दा गर्दै आएको छ ।



Enter Kantipur TV HD
Advertisement