ट्रम्पले सपथपछि हस्ताक्षर गरेका आदेशमा के-के छन् ?

माघ ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पले सपथपछि हस्ताक्षर गरेका आदेशमा के-के छन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने मात्र नभइ अन्य थुप्रै कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले जारी गरेका यी आदेशबाट अमेरिकासहित विश्वका धेरै मुलुक प्रभावित हुने आंकलन गरिएको छ ।

ट्रम्पले अवैध आप्रवासी वा अस्थायी भिसा भएका आमाबाबुबाट जन्मिएका सन्तानलाई जन्मसिद्ध अमेरिकी नागरिकता दिने कार्य बन्द गर्नेलगायतका आदेश जारी गर्नुभएको हो । ट्रम्पले निवर्तमान राष्ट्रपति जो बाइडनले जारी गरेका करिब ७८ वटा कार्यकारी आदेशलाई समेत खारेज गरिदिनुभएको छ । यस्तै उहाँले टिकटकलाई राहत प्रदान गर्दै ७५ दिनका लागि प्रतिबन्ध फुकुवा गर्ने आदेश जारी गर्नुभएको छ । ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणका सम्बन्धमा पक्राउ परेका १६ सय जनालाई आममाफी दिनुभएको छ । यस्तै मेक्सिकोसँगको दक्षिणी सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र अमेरिकी शरणार्थी पुनर्स्थापना कार्यक्रमलाई चार महिनाका लागि स्थगित गर्ने आदेशमा पनि हस्ताक्षर गर्नु भएको छ ।

ट्रम्पले अमेरिकामा तेस्रो लिङ्गीको मान्यतालाई अस्वीकार गर्ने आदेशसमेत जारी गर्नुभएको छ । ट्रम्पको आदेशमा अमेरिकाले अबदेखि महिला वा पुरुष गरी दुई लिङ्गलाई मात्रै मान्यता दिने उल्लेख छ । यसले तेस्रो लिङ्गी सम्बन्धी नीति र उनीहरूले पाउने सुविधाका साथै पासपोर्ट र भिसाजस्ता दस्तावेजमा समेत असर पार्नेछ ।

ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल बनाइने, पनामा क्यानललाई फिर्ता लिइने, लागूऔषध कारोबारीलाई आतंककारी घोषणा गरिने र घरेलु तेल उत्पादन बढाइने बताउनुभएको छ । ट्रम्पले मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकी खाडी राख्ने सम्बन्धी कार्यकारी आदेशमा समेत हस्ताक्षर गर्नु भएको छ ।

ट्रम्पले, राष्ट्रिय ऊर्जा आपतकालको घोषणा पनि गर्नुभएको छ । यस्तै उहाँले फेब्रुअरी १ देखि लागू हुने गरी छिमेकी देशहरु क्यानडा र मेक्सिकोबाट आयात हुने मालसामानमा २५ प्रतिशत आयात कर लगाउने चेतावनी समेत दिनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement