काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती घाइतेहरूलाई स्थानीयले तत्कालै उपचारका लागि पाचोरा ग्रामीण अस्पताल लगेको बताइएको छ ।
रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रुहरूमाझ रेलमा आगो लागेको हल्ला फैलिएको थियो । त्यसपछि रेललाई चेन पुलिङ मार्फत रोकियो र थुप्रै यात्रुहरू रेलबाट ओर्लिएका थिए ।
सोहि समयमा, अर्कोतर्फ, बेंगलुरुबाट दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसले केही यात्रुहरूलाई ठक्कर दिँदा ७ जनाको मृत्यु भएको बताइएको छ ।
अर्कोतर्फ, भुसावल डिभिजनका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको बी ४ डब्बामा विद्युतीय सर्ट भएको कारण यात्रुहरूले आगो लागेको ठानेर रेलबाट ओर्लिएका थिए । सोहि बेला अर्को तर्फबाट कर्नाटक एक्सप्रेसले ती यात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनामा सातदेखि दश यात्रुको मृत्यु भएको आशंका गरिएको छ ।
यद्यपि, समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।