काठमाडौं । पुष-माघ आगलागी तथा डढेलोको त्यति धेरै जोखिम भएको महिना होइन । तर यसपालि यही समयमा ठुल्ठुला आगलागीका घटना भए । गत बिहिबार संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ घर जले । आगलागीबाट ५ परिवारको करिब २ करोड बढीको क्षति भएको छ भने ५ घरका १७ जना विस्थापित भएका छन् । नेपालमा बर्सेनि ५ हजारभन्दा बढी डढेलो लाग्ने गर्छ । हिउँद, त्यसमा पनि सुख्खायाममा देशका अधिकांश जिल्लाले सामना गर्ने यो विपद्का कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । डढेंलोका कारण बढ्ने वायु प्रदुषण, जैविक विविधता तथा वन्यजन्तुमा पर्ने क्षतिको त लेखाजोखा नै हुँदैन । तर बर्सेनि दोहोरिने डढेलो नियन्त्रण र त्यसको सामना गर्न पूर्वतयारीको कुरा भएपनि गरेको भने कहिल्यै पाइँदैन । यसै विषयमा प्रतिनिधी सभाको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले बुधबार छलफल गरेको छ ।
माघ ८ गतेमात्रै २३ जिल्लाका १ सय १० स्थानमा डढेलो लागेको छ । तराईमात्रै होइन हिमाली र पहाडी जिल्लाहरुमा पनि डढेलो लागिरहेको छ । सबैभन्दा बढी म्याग्दीमा १५ स्थानमा डढेलो लागेको छ ।
अघिल्लो वर्ष मात्रै धेरै वन क्षेत्रमा डढेलो लागेको र आगलागीले गाउँका गाउँ सखाप भएका डरलाग्दा दृश्य हामी सबैले देखेकै थियौ । अघिलो वर्ष पुस १६ देखि गत यो वर्ष पुस १५ अर्थात् सन् २०२४ मा ५ हजार २ सय ५ वटा डढेलो लागेको सरकारी तथ्यांक छ । जसका कारण ७४ जिल्ला प्रभावित भए । सन् २०२१ मा सबैभन्दा बढी ६ हजार ५ सय ३७ वटा डढेलो लाग्दा २०२२ मा १ हजार ५ सय २८ घटना भए । तर, सन् २०२३ र २०२४ मा डढेंलोका घटना निकै बढेको सामुदायिक वन उपभोक्ता उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
आगलागी र डढेलोका घटनाले ठूलो मानवीय र भौतिक क्षति गर्दै आएको छ । नेपालमा बर्सेनि औसत ८ जनाको वन डढेलोका कारण मृत्यु हुने गरेको छ । सन् २०१७ मा मानवीय क्षति नभएकोमा २०२४ मा भने १७ जनाको ज्यान गएको छ । सन् २००५ यताका २० वर्षमा १ सय ४३ जनाले ज्यान गुमाउँदा १ सय ४० घाइते भएका छन् भने १ हजार २ सय ७१ वटा घर-गोठ जलेर नष्ट भएको आगलागी तथा डढेलोजन्य विपद् विज्ञ, सुन्दर शर्माले बताउनु भयो ।
डढेलोमात्रै नभएर आगलागीले यसै वर्षको साउनदेखि पुस मसान्तसम्ममा २२ जनाको मृत्यु भैसकेको छ । १ हजार ४ सय ४२ आगलागीका घटना हुँदा ६ करोड ७२ लाखभन्दा बढीको क्षति भैसकेको छ । तर बर्सेनि डढेंलोजन्य विपद्का घटना बढ्दै गए पनि सरकारले यसको सामना गर्न कुनै योजना अघि बढाएको छैन, न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ वर्षअघि नै तयार पारेको कार्ययोजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।
डढेलोको सामना गर्न स्थानीय तहलाई स्रोतसाधन उपलब्ध गराउनेदेखि तालिम तथा सचेतनाका कार्यक्रमसमेत गर्न सरकारले चासो देखाएको छैन । स्थानीय तह र नगरमा पर्याप्त मात्रामा दमकलको सुविधा नहुँदा क्षति बढ्ने गरेका छन् भने आगो निभाउन आवश्यक पानीका स्रोतको पहिचान र तयारीमा पनि ध्यान दिइएको छैन ।
सम्बन्धित समाचार :