इजरायल नियन्त्रित वेस्ट ब्यांकको जेनिनमा इजरायली सेनाले सुरू गर्यो सैन्य कारबाही

माघ ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल नियन्त्रित वेस्ट ब्यांकको जेनिनमा इजरायली सेनाले सुरू गर्यो सैन्य कारबाही

काठमाडौं । इजरायल नियन्त्रित वेस्ट ब्यांकको जेनिनमा इजरायली सेनाले सैन्य कारवाही सुरु गरेको छ । गाजामा युद्धविराम भएको दुई दिन नबित्दै इजरायली सेनाले कारबाही थालेको हो ।

इजरायलले गरेको आक्रमणमा ९ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस क्रममा ३५ जना घाइते भएका छन् । इजरायलले गरेको सैन्य कारबाहीका क्रममा वेस्ट ब्यांकका थुप्रै क्षेत्रमा आक्रमण भएको प्यालेस्टिनी सञ्चारमाध्यमले जनाएका छन् । इजरायली सुरक्षा बलका सदस्यहरु राहत शिविरमा समेत पुगेका छन् ।

जेनिनका गभर्नर कमाल अबू अल रुबले इजरयाली सेनाको कारबाहीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । इजरायली सेनाले वेस्ट ब्यांकमा आफ्नो चेक पोस्ट विस्तार गरेर झन्डै ९ सय पुर्‍याएको अल जजिराले जनाएको छ । सेनाले जेनिन क्याम्पलाई पूर्णरुपमा घेराबन्दी गरिसकेको बताइएको छ ।

इजरायलले भने इरान समर्थित समूहलाई जेनिनबाट धपाउन कारबाही गरेको दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जेनिनमा आतंकवादलाई समाप्त गर्न ठूलो मात्रामा सैन्य कारवाही सुरु गरेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री कै निर्देशनमा इजरायली सुरक्षा बलले जेनिनमा सैन्य कारवाही सुरु गरेको हो । इजरायलको सैन्य कारवाहीपछि वेस्ट ब्यांकमा हिंसा भड्किन सक्ने आशंका गरिएको छ ।



Enter Kantipur TV HD
Advertisement