इजरायल-हमास युद्धविरामपछिको पहिलो दिन : रिहा हुने ३३ जनाको सूचीमा परेनन् विपीन

माघ ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल-हमास युद्धविरामपछिको पहिलो दिन : रिहा हुने ३३ जनाको सूचीमा परेनन् विपीन

काठमाडौं । १५ महिना लामो युद्धलाई विश्राम दिंदै गाजामा बहुप्रतिक्षित युद्धविराम सुरु भएको छ । निर्धारित समयभन्दा करीब तीन घण्टाको ढिलाइपछि स्थानीय समय अनुसार आइतवार सवा ११ बजेदेखि युद्धविराम कार्यान्वयनमा आएको हो । 

प्यालेष्टिनी लडाकू समूह हमास र इजरायलबीचको यो युद्धविराम सम्झौता स्थानीय समयअनुसार आइतवार साढे आठ बजेदेखि कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएको भन्दै इजरायलले कार्यान्वयन रोकेको थियो । हमासले आफूले पहिलो दिन रिहा गर्ने तीन बन्धकको नाम इजरायल सरकारलाई बुझाएपछि युद्धविराम कार्यान्वयनमा आएको हो । तीन बन्धकको बदलामा इजरायलले आफनो जेलमा कैद रहेका ९० जना प्यालेष्टिनी बन्दी रिहा गर्नेछ ।

यसैबीच इजरायल सरकारको सामाजिक संजाल एक्समा रहेको आधिकारिक एकाउन्टमा हमासले युद्धविरामको पहिलो चरणमा रिहा गर्ने ३३ बन्धकको नाम र फोटो सार्वजनिक गरिएको बीबीसीले जनाएकोछ । यो सूचीमा हमासले बन्धक बनाउँदा नौ महिनाको रहेका कफिर बिबासदेखि ८६ वर्षीय श्लोमो मन्तजुरसम्म रहेका छन् । यो सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम भने छैन । यी ३३ जनाको बदलामा इजरायलले आफ्नो जेलमा रहेका १८ सय ९० प्यालेष्टिनी कैदी रिहा गर्नेछ । युद्धविरामको पहिलो चरण ६ साताको हुनेछ ।

युद्धविराम सुरु भएपछि सहायता सामग्री बोकेका ट्रकहरू इजरायल नियन्त्रित केरेम शलोम सीमाबाट गाजातर्फ प्रवेश गरेको जनाइएको छ । यसैगरी युद्धबाट आन्तरिक रुपमा विस्थापित प्यालेष्टिनीहरू आ आफनो गृह नगरतर्फ फर्किन थालेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

युद्धविराम कार्यान्वयनमा ढिलाई हुँदाको समयमा पनि इजरायलले आफनो सैन्य कारवाही जारी राखेको र यो बीचमा कम्तिमा १९ जना प्यालेष्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासले २०२३ को अक्टोबर सातमा दक्षिणी इजरायलमा आक्रमण गरी करीब १२ सय जनाको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाइ लगेको थियो । त्यसमध्ये ९४ बन्धक अझै पनि हमासको नियन्त्रणमा रहेका र तीमध्ये कम्तिमा ३० जना मारिएको इजरायलको आंकलन छ ।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा गरेको आक्रमणमा ४६ हजार ९ सयभन्दा बढी प्यालेष्टिनी मारिइसकेका छन् । यसैबीच हमाससंगको युद्धविराम सम्झौताप्रति असहमति जनाउँदै अति दक्षिणपन्थी सत्ता गठबन्धन दलका नेता तथा राष्ट्रिय सुरक्षामन्त्री बेन गभिरले पदबाट राजीनामा दिनुभएको छ ।

हमासले आइतबार पहिलो दिन रिहा गर्ने तीन बन्धकमा ३१ वर्षीया इजरायली नागरिक डोरोन स्टेनब्रेचर, २८ वर्षीया बेलायती -इजरायली नागरिक एमिलि डमारी र २४ वर्षीया इजरायली नागरिक रोमी गोनेन रहेका छन् ।

डमारी र स्टेनब्रेचर दुवै जनालाई किबुत्ज कफार अजास्थित आफ्नै घरबाट अक्टोबर ७ मा हमास लडाकुले बन्धक बनाएका थिए । त्यसदिन हमास लडाकुले डमारीलाई गोली हानी घाइते बनाएका थिए । ३१ वर्षीया स्टेनब्रेचर पशुचिकित्सा नर्स हुन् । स्टेनब्रेचरलाई हमासले उनकै अपार्टमेन्टबाट नियन्त्रणमा लिएको थियो । रोमी गोनेनलाई भने हमास लडाकूले आक्रमण गरेपछि सुपर नोभा महोत्सवबाट भाग्न खोज्दा समातेका थिए ।

हमासले यी तीनै जनालाई रेडक्रसको जिम्मा लगाउने र रेडक्रसले उनीहरूलाई गाजामा रहेको इजरायली रक्षा बल आइडीएफको विशेष बललाई जिम्मा लगाउने बताइएको छ । आइडीएफले ती बन्धकलाई गाजा बाहिर रहेका तीनमध्ये एक स्थानमा ल्याउने जनाइएको छ । उता तेलअबिबस्थित अस्पताल सेबा मेडिकल सेन्टरले बन्धकको आगमनका लागि आवश्यक तयारी सुरू गरिएको जनाएको छ ।

१५ महिना लामो युद्धलाई विश्राम दिँदै बहुप्रतिक्षित युद्धविराम सुरु भएपछि गाजामा खुसियाली मनाइएको छ ।



Enter Kantipur TV HD
Advertisement