तीन घण्टाको ढिलाइपछि गाजा युद्धविराम कार्यान्वयनमा, हमासले सार्वजनिक गर्‍यो तीन बन्धकको नाम

माघ ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
तीन घण्टाको ढिलाइपछि गाजा युद्धविराम कार्यान्वयनमा, हमासले सार्वजनिक गर्‍यो तीन बन्धकको नाम

काठमाडौं । बहुप्रतिक्षित गाजा युद्धविराम करीब तीन घण्टाको ढिलाईपछि कार्यान्वयनमा आएको छ ।

प्यालेष्टिनी लडाकु समूह हमास र इजरायलबीचको यो युद्धविराम सम्झौता स्थानीय समयअनुसार आइतवार साढे आठ बजेदेखि कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएको भन्दै इजरायलले कार्यान्वयन रोकेको थियो ।

हमासले आफूले पहिलो दिन रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक गरेपछि युद्धविराम कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ । पहिलो दिन रिहा गर्ने बन्धकमा ३१ वर्षीय इजरायली नागरिक डोरोन स्टेनब्रेचर, २८ वर्षीय बेलायती -इजरायली नागरिक एमिलि डमारी र २४ वर्षीय रोमी गोनेन रहेको बीबीसीले उल्लेख गरेकोछ ।

युद्धविराम सम्झौताको पहिलो चरणमा हमासले ३३ बन्धकलाई रिहा गर्ने र त्यसको बदलामा इजरायलले सयौं प्यालेष्टिनी कैदी रिहा गर्ने बताइएको छ । युद्धविराम कार्यान्वयनमा ढिलाई हुँदाको समयमा पनि इजरायलले आफनो सैन्य कारवाही जारी राखेको र यो बीचमा १३ जना प्यालेष्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासले २०२३ को अक्टोबर सातमा दक्षिणी इजरायलमा आक्रमण गरी करीब १२ सय जनाको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाइ लगेको थियो । त्यसमध्ये ९४ बन्धक अझै पनि हमासको नियन्त्रणमा रहेका र तीमध्ये कम्तिमा ३० जना मारिएको इजरायलको आकलन छ । नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा छन् ।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा गरेको आक्रमणमा ४६ हजार ८ सयभन्दा बढी प्यालेष्टिनी मारिइसकेका छन् । यसैबीच हमाससंगको युद्धविराम सम्झौताप्रति असहमति जनाउँदै अति दक्षिणपन्थि सत्ता गठबन्धन दलका नेता तथा राष्ट्रिय सुरक्षामन्त्री बेन गभिरले पदबाट राजिनामा दिनुभएकोछ ।



Enter Kantipur TV HD
Advertisement