काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू हुँदैछ । स्थानीय समय अनुसार बिहान साढे ८ बजेदेखि सम्झौता लागू हुन लागेको हो ।
युद्धविराम सम्झौता सुरू हुन केही घण्टा बाँकी हुँदा टेलिभिजनबाट सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले हमाससँग आवश्यक भएमा पुनः लडाइँ सुरू गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिनुभएको छ । नेतन्याहूले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरू गर्न आफ्नो देश तयार रहेको बताएको बीबीसीले जनाएको छ ।
युद्धविराम अस्थायी भएको र गाजामा पुनः आक्रमण गर्न अमेरिकी निर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको समर्थन रहेको नेतन्याहूको दाबी छ ।
नेतन्याहूले विगत १५ महिनामा इजरायलको सैन्य अभियानको सफलताको पनि चर्चा गर्नुभएको थियो । उहाँले हमास अब पूर्णरूपमा एक्लिएको बताउनुभयो ।
सम्बोधनमा नेतन्याहूले हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नभएसम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताउनुभयो । इजरायलले सम्झौताको उल्लंघन नसहने उहाँको चेतावनी छ ।
हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली सञ्चारमाध्यमहरूले प्रकासित गरिसके पनि सरकारले त्यसको पुष्टि गरिसकेको छैन । आज रिहा हुने तीन जना बन्धकहरूको नाम पनि प्राप्त गर्न बाँकी रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
यसैबीच, इजरायलले गाजामा हमास र इस्लामिक जिहाद क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । बुधबार सम्झौता घोषणा भएदेखि १२० भन्दा बढी व्यक्ति मारिएको हमासका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अबको केही हप्तामा १८ सय ९० प्यालेस्टिनी कैदीहरूको सट्टामा ३३ बन्धकहरूलाई रिहा गर्ने तयारी सहमति छ । सम्झौता अनुसार इजरायलले पनि गाजाबाट आफ्ना सेना फिर्ता गर्न थाल्नेछ ।