काठमाडौं । इरानको सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनिको शनिबार हत्या भएको हो । उनीहरुलाई आफ्नै कार्यकक्षमा गोली प्रहार गरिएको न्यायालयका प्रवक्ता अश्गर जहाँगिरले जनाएका छन् ।
त्यसक्रममा एक न्यायाधीश र बडीगार्ड घाइते भएका छन् । तास्मिन समाचार समितिले आक्रमणकारी तेहरान न्याय विभागमा कार्यरत कर्मचारी भएको जनाएको छ । न्यायालयले उक्त व्यक्ति विदेशी एजेन्ट भएको आरोप लगाएको छ ।
न्यायाधीशहरुलाई गोली हानेपछि प्रहरीले समात्नुअघि नै आक्रमणकारीले पनि आत्महत्या गरेको जनाइएको छ । कुन उद्देश्यले न्यायाधीशमाथि गोली प्रहार गरियो भन्ने स्पष्ट हुन सकेको छैन । गोलीप्रहारबाट मारिएका न्यायाधीश रजिनिको सन् १९९८ मा पनि हत्या प्रयास भएको थियो । दुवै न्यायाधीशहरू विगतमा आन्दोलनकारीलाई कडा सजायको आदेश दिने व्यक्तिका रुपमा परिचित थिए ।