इजरायल र हमासबीचको युद्धविराम र बन्दी रिहाइ सम्झौता भोलिदेखि लागू हुँदै

माघ ५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
 इजरायल र हमासबीचको युद्धविराम र बन्दी रिहाइ सम्झौता भोलिदेखि लागू हुँदै

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्धविराम भोलिदेखि लागू हुने भएको छ । स्थानीय समयअनुसार बिहान साढे ८ बजेदेखि युद्धविराम सम्झौता लागू हुने कतारको विदेश मन्त्रालयले घोषणा गरेको हो ।

यसअघि इजरायली मन्त्रिपरिषद्को ६ घण्टाभन्दा बढी समय बसेको बैठकले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सम्झौता पारित भएको जानकारी दिएको हो । युद्धको ४ सय ६० दिनपछि हमास तथा इजरायल युद्धविराम सम्झौतामा सहमत भएका हुन् ।

सन् २०२३ को अक्टोबर ७ देखि सुरु भएको युद्धमा हालसम्म ४६ हजार ८ सय ९९ प्यालेस्टिनीको ज्यान गइसकेको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन् । युद्धविराम सम्झौतामा सहमति भएयता इजरायली आक्रमणमा गाजामा १ सय २० जना मारिइसकेका छन् ।

युद्धविराम कार्यान्वयनमा आएपछि पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने बताइएको छ । उनीहरुको नाम हमासले यसअघि नै सार्वजकि गरिसकेको छ भने उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम भने समावेश छैन् । हमासले पहिलो दिन तीन बन्धकलाई रिहा गर्नेछ भने इजरायलले जनघनत्व भएको क्षेत्रबाट आफ्नो सेना फिर्ता लिन सुरू गर्नेछ । त्यसको सात दिनपछि हमासले थप चार बन्धकलाई रिहा गर्नेछ भने इजरायलले विस्थापित भइ दक्षिण गाजा आएका मानिसलाई उत्तर फर्कन अनुमति दिनेछ ।

सम्झौता अनुसार इजरायली सेना फिलाडेल्फी करिडोरमा रहने र पहिलो चरणको अवधिमा पूर्वी र उत्तरी सीमानामा ८ सय मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश छ, जुन ४२ दिनसम्म चल्ने बताइएको छ । यस्तै एक इजरायली सैनिकको बदलामा इजरायलले ५० प्यालेस्टिनीलाई रिहा गर्नुपर्ने हुन्छ । इजरायलले प्रत्येक दिन मानवीय सहायता बोकेका करिब ६ सय ट्रकलाई गाजा भित्रने अनुमति दिने बताइएको छ ।

यस्तै युद्धविरामको १६औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणकोका लागि वार्ता सुरू हुनेछ । जसमा पूर्ण युद्ध विराम र गाजा पुनर्निर्माणका विषय समावेश रहनेछन् ।



Enter Kantipur TV HD
Advertisement