काठमाडौं । अमेरिकामा चर्चित सामाजिक संजाल टिकटक चल्न छाडेको छ ।
टिकटकलाई प्रतिबन्ध लगाउने कानून कार्यान्वयनमा आउनु केही घण्टाअघि देखि नै टिकटक अफलाइन भएको हो । अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्ने टिकटकको एपमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पालना गरिएको र हालका लागि तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुन्न भन्ने सन्देश देखिएको जनाइएको छ ।
उक्त सन्देशमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफूले सत्ता सम्हालेपछि टिकटक पुनर्स्थापना गर्ने उपायका सम्बन्धमा मिलेर काम गर्ने संकेत दिएको समेत उल्लेख गरिएको छ । यसअघि उक्त सामाजिक संजाल प्लेटर्फमले बहिर्गमन उन्मुख बाइडन प्रशासनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्ने आश्वासन नदिए आइतबारदेखि आफू अन्धकारमा जाने चेतावनी दिएको थियो ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफूले सोमबार पदभार सम्हालेपछि टिकटकमाथिको प्रतिबन्ध ९० दिनका लागि स्थगित गर्ने संकेत गर्नुभएको थियो । टिकटकको एप-एप्पल र गुगलको ‘‘यूएएस एप स्टोर’’ बाट हटाइएको प्रयोगकर्ताले बताएका छन् ।
अमेरिकी संसदले गत अप्रिलमा टिकटकको चीनस्थित मातृ कम्पनी बाइटडान्सले यसको अमेरिकी संस्करणलाई आइतबार अर्थात १९ जनवरीसम्ममा कुनै अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा यसमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । १७ करोड अमेरिकी उपभोक्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै टिकटक सर्वोच्च अदालत पुगे पनि यही शुक्रबार सर्वोच्चले उक्त कानुनलाई मान्यता दिएको थियो ।
टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले चिनियाँ सरकारलाई यसका प्रयोगकर्ताहरूको गोप्य जानकारी उपलब्ध गराउने गरेको आशंका अमेरिकाले गर्दै आएको छ ।