काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनवार्ता गर्नुभएको छ । चिनियाँ विदेश मन्त्रालय र ट्रम्पले सीसँग फलदायी कुराकानी भएको पुष्टि गर्नुभएको हो ।
जनवरी २० मा ट्रम्पको शपथ ग्रहण समारोहअघि भएको पछिल्लो कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका–चीन सम्बन्ध प्रमुख केन्द्रबिन्दु रहने अपेक्षा गरिएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा चिनियाँ राष्ट्रपति सीसँग व्यापार, फेन्टानिल र टिकटक लगायतका विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ । साथै ट्रम्पले राष्ट्रपति सी र आफू विश्वलाई अझ शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै दुई नेताबीच भएको कुराकानीमा ताइवानबारे छलफल नभएको तर अन्य मुद्दामा छलफल भएको ट्रम्पको दाबी छ ।
उता, सीले ट्रम्पलाई फरक परिस्थितिमा दुई ठूला देशबीच केही भिन्नता हुनु स्वाभाविक रहेको बताउनुभयो । एकअर्काको हित, चासोको सम्मान र उपयुक्त समाधान खोज्न आवश्यक रहेको सीको भनाइ छ । यस्तै सीले ताइवानको मुद्दा चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग जोडिएको स्पष्ट पार्दै अमेरिकी पक्षले यसलाई विवेकपूर्ण रूपमा विचार गर्न आवश्यक रहेको बताउनुभयो ।
विश्व शान्ति कायमसँगै ट्रम्पले अमेरिका आयात हुने सम्पूर्ण चिनियाँ वस्तुमा ६० प्रतिशत कर लगाउने धम्की दिनुभएको बताइएको छ । तर, उहाँले पहिलेदेखि नै सीसँगको आफ्नो सम्बन्धको प्रशंसा गर्दै आउनुभएको छ र युक्रेन युद्ध जस्ता अन्तर्राष्ट्रिय संकटमा चीनले मध्यस्थता गर्न मद्दत गर्न सक्ने बताउँदै आउनुभएको छ ।
सी भने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ । यस कार्यक्रममा चीनको प्रतिनिधित्व उपराष्ट्रपति हान झोङले गर्ने बताइएको छ । डिसेम्बरमा ‘मिट द प्रेस’मा दिएको अन्तर्वार्तामा ट्रम्पले चुनाव जितेदेखि नै आफू सीसँग सम्पर्कमा रहेको बताउनुभएको थियो ।