टिकटकलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, भोलिसम्म एप नबेचे प्रतिबन्ध लगाउन आदेश

माघ ५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
टिकटकलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, भोलिसम्म एप नबेचे प्रतिबन्ध लगाउन आदेश

काठमाडौं । टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संघीय कानुन विरुद्ध टिकटकको मातृ कम्पनी बाइट डान्सले दायर गरेको अपिल अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । जनवरी १९ सम्ममा बाइट डान्सले टिकटकको शेयर गैर चिनियाँ कम्पनीलाई नबेचे सोही दिनबाट अमेरिकामा टिकटकले प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतका नौ सदस्यीय इजलासले सर्वसम्मतिले फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले टिकटक अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको तथा चीनसँगको सम्बन्ध औल्याउँदै संघीय कानुनको निर्णयलाई यथावत् राखेको हो ।

गत वर्षको अप्रिलमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै अमेरिकी न्याय विभागको पहलमा कंग्रेसले टिकटकलाई २०२५ को १९ जनवरीसम्म गैर चिनियाँ कम्पनीलाई बेच्नुपर्ने अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै विधयेक पारित गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेपछि कानुन बनेको थियो ।

अमेरिकामा भने १७ करोड टिकटक प्रयोगकर्ता छन् भने उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै उक्त कानुनलाई खारेज गर्न अपिल गरेको थियो । उच्च अदालतले अमेरिकी कानुनको पक्षमा फैसला सुनाएपछि कम्पनीले पुनः सर्वोच्चमा खारेजीको माग गर्दै अपिल गरेको थियो । तर, सर्वोच्चले सो अपिल पनि खारेज गरेको हो ।

तर, कम्पनीले कस्ता खालको प्रतिबन्धको सामना गर्नुपर्ने भन्ने विषय खुलेको छैन । भोलिबाट लाग्ने प्रतिबन्धको अर्थ यो एप पहिलेदेखि प्रयोग गर्दै आएको प्रयोगकर्ताको फोनबाट गायब हुने छैन तर नयाँ प्रयोगकर्ताले यसलाई डाउनलोड गर्न सक्ने छैनन् । यस्तै टिकटकको अपडेटहरू समेत उपलब्ध हुने छैनन् । त्यसले अन्ततः एपलाई काम गर्न नसक्ने बनाउनेछ । यस विषयमा कुनै कदम नचाले आफूहरूले टिकटक गतिविधि ठप्प गर्ने अमेरिकी सरकारले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डनल्ड ट्रम्पले सर्वोच्चको निर्णय अपेक्षित रहेको र सबैले यसको सम्मान गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले टिकटक एपको भविष्यको निर्णय आफूमा निर्भर रहेको पनि बताउनुभयो ।



Enter Kantipur TV HD
Advertisement