गाजामा युद्धविराम र बन्धक रिहाइका लागि वार्ता अन्तिम चरणमा

माघ १, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा युद्धविराम र बन्धक रिहाइका लागि वार्ता अन्तिम चरणमा

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि भइरहेको वार्ताले अन्तिम रूप लिएको छ । अमेरिकी मध्यस्थतामा भइरहेको युद्धविराम वार्ता अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि अन्तिम रूप लिएको बताइएको छ ।

एक इजरायली अधिकारीले युद्धविराम सम्झौता चाँडै हुने प्रतिक्रिया दिएका छन् । कतारको दोहामा भइरहेको वार्तामा दुवै पक्षका अधिकारीहरू एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् । सम्झौताको पहिलो दिन हमासले तीन बन्धकलाई रिहा गर्नेछ भने इजरायलले विभिन्न क्षेत्रबाट आफ्नो सेना फिर्ता लिन सुरू गर्नेछ । त्यसको सात दिनपछि, हमासले थप चार बन्धकलाई रिहा गर्नेछ भने इजरायलले विस्थापित भए दक्षिण गाजा आएका मानिसलाई उत्तर फर्कन अनुमति दिनेछ ।

सम्झौता अनुसार इजरायली सेना फिलाडेल्फी करिडोरमा रहने र पहिलो चरणको अवधिमा पूर्वी र उत्तरी सीमानामा ८ सय मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश छ । जुन ४२ दिनसम्म चल्ने बताइएको छ ।

यस्तै इजरायलले एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्न पनि सहमति जनाएको छ । जसमा १५ वर्ष वा सोभन्दा बढीको सजाय भोगिरहेका लगभग १९० जना समावेश छन्। बदलामा, हमासले ३४ जना इजरायली बन्धक रिहा गर्नेछ ।

यस्तै युद्धविरामको १६औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ । सम्झौताले अन्तिम रूप लिएपछि ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बाइडनको राष्ट्रपतित्वको अन्तिम सातामा युद्धविराम हुने दाबी गर्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement