काठमाडौं । अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलस वरिपरिको जंगलमा ७ जनवरी अर्थात् गत सातदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगोका कारण अहिलेसम्म कम्तिमा २४ जनाको मृत्यु भइसकेको छ भने करिब १० हजार संरचना ध्वस्त भएका छन् । करिब एक लाख ८० हजार मानिस विस्थापित भएका छन् भने अर्बौं डलरको क्षति भएको छ । आगो निभाउन हजारौं अग्नि नियन्त्रकका साथै वारुणयन्त्र र विमानहरुको प्रयोग गरिएको छ भने क्यानडा, मेक्सिकोलगायतका देशले पनि सहायता पठाएका छन् । लस एन्जलस क्षेत्रमा अहिले पनि तीन वटा डढेलो बलिरहेको र पुन तीव्र वेगको आँधी "स्यान्टा एना विन्ड्स" चल्न सक्ने पुर्वानुमानकाबीच भोलि मंगलवार वा बुधवारदेखि आगोले पुनः उग्र रुप लिन सक्ने बताइएको छ ।
लस एन्जलसको प्यालिसेड्स, इटन र हस्ट क्षेत्रको आगो एक साता बितिसक्दा पनि नियन्त्रणमा आएको छैन । यीमध्ये प्यालिसेड्स क्षेत्रमा लागेको आगो सबैभन्दा ठूलो हो । यो आगो २३ हजार एकडभन्दा बढी भूभागमा फैलिएकोमा १३ प्रतिशतमात्र नियन्त्रणमा आएको जनाइएको छ । प्यालिसेड्स फायरका कारण कम्तिमा ८ जनाको ज्यान गएको छ ।
दोस्रो ठूलो आगो इटन क्षेत्रमा १४ हजार एकडभन्दा बढी भूभागमा फैलिएको छ । हालसम्म २७ प्रतिशतमात्र नियन्त्रणमा आएको इटन फायरका कारण कम्तिमा १६ जनाले ज्यान गुमाएका छन् ।
हस्टमा लागेको आगो भने तुलनात्मक रुपमा सानो छ । ७९९ एकडसम्म फैलिएको यो आगो ९५ प्रतिशत नियन्त्रणमा आइसकेको जनाइएको छ ।
यसबाहेक लिडिया, केनेथ र आर्चर क्षेत्र तथा हलिउड हिल्समा लागेको आगो पनि नियन्त्रणमा आइसकेको छ ।
आगो कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान जारी रहे पनि सुख्खा मौसम र तीव्र गतिको हावाहुरीका कारण आगो अनियन्त्रित भएर फैलिएको बताइएको छ । चट्यांग पर्नु अमेरिकामा आगलागीको एक प्रमुख कारणका रुपमा रहे पनि सो क्षेत्रमा पछिल्ला दिनमा कुनै चट्यांग परेको थिएन । केही विज्ञहरुले भने जलवायू परिवर्तनका कारण यस्तै आगलागी भएको बताइरहेका छन् । यस्तै सम्भावित आगलागीसंग जुध्न पर्याप्त तयारी र पानीको व्यवस्था नभएको आरोप पनि सरकारले सामना गरिरहेको छ ।
लस एन्जलस न्यूयोर्कपछि देशकै दोस्रो सबैभन्दा बढी जनघनत्व भएको शहर हो । लस एन्जलस अमेरिकी चलचित्र उद्योग हलिउडका लागि प्रसिद्ध स्थल हो । फिल्म, टेलिभिजन र म्युजिक कार्यक्रम उत्पादनका लागि यो विश्वकै सबैभन्दा ठूलो हबका रुपमा रहेको छ भने प्यारामाउन्ट पिक्चर्स, यूनिभर्सल र वार्नर ब्रदर्शजस्ता विश्वप्रसिद्ध चलचित्र स्टुडियो र चर्चित टीसीएल चाइनिज थिएटर पनि यही रहेको छ । चर्चित हलिउड स्टारहरुको बसोबासका कारण पनि लस एन्जलस विश्वकै चर्चित स्थानहरुमा पर्दछ ।
लस एन्जलसमा लागेको आगोका कारण हलिउडका चर्चित कलाकारहरु मेल गिब्सन, जेफ ब्रिजेज, सर एन्थोनी हप्किन्स, स्टीभ गुटनबर्ग, जोसुआ ज्याक्सन, ब्र्यान ग्रीनबर्ग र जेमि चुंग, माइलो भेन्टिमिग्लिया, पेरिस हिल्टन, गितकार डायने वारेन, स्पेन्सर प्र्याट र हेडी मोन्टाग, मेलिसा रिभर्स, बिली क्रिस्टल, क्यामरोन म्याथिसन, आन्ना फेरिस, रोजि ओ डोनेल, क्यारी एल्वेस, रिकी लेक, म्यान्डी मुर, बोजोमा सेन्ट जोन लगायतको घर ध्वस्त भएको छ । यो आगलागीका कारण १३५ देखि १५० अर्ब डलरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । यसमध्ये ८ अर्ब डलरको सम्पत्ति मात्रै बिमाको सीमाभित्र पर्न सक्ने बताइएको छ ।