काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले अफगानिस्तानमा महिलाका लागि तालिबानले ल्याएको नयाँ नीतिलाई चुनौती दिन मुस्लिम नेताहरूलाई आग्रह गर्नुभएको छ ।
इस्लामिक देशहरूमा बालिकाको शिक्षाको लागि प्रतिबद्धता जनाउन पाकिस्तानले गरेको सम्मेलनमा मलालाले यस्तो आग्रह गर्नुभएको हो । सम्मेलनमा मलालाले अफगानिस्तानको नेतृत्वमा रहेको तालिबानले महिलालाई मानवको रूपमा नहेरेको आरोप लगाउँदै तालिबानको महिलाप्रतिको नीति इस्लामिक नरहेको समेत बताउनुभयो ।
तालिबानले महिलालाई आफ्ना नीतिहरू मार्फत् पढ्न र काम गर्नबाट रोकिरहेको उहाँको आरोप थियो । तालिबान सरकारले ‘सांस्कृतिक र धार्मिक’ आडमा आफ्ना अपराध ढाकछोप गर्न प्रयास गरिरहेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।
सन् २०२१ देखि अफ्गानिस्तानको सत्ता चलाइरहेको तालिबानलाई अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । मलालाले लगाएको आरोपमाथि तालिबानले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
शिखर सम्मेलन इस्लामावाद घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । जसमा शिक्षाका माध्यमबाट बालिकालाई सशक्त बनाउने मुस्लिम समुदायको साझा प्रतिबद्धताको रूपरेखा प्रस्तुत गरिएको छ ।