ह्वाइट हाउस छाड्नुअघि इजरायल र हमासबीच युद्धविराम गराउने अमेरिकी राष्ट्रपति बाइडनको प्रयत्न

बन्धक रिहाइ र गाजा युद्धविराम सम्झौताबारे प्रधानमन्त्री नेतान्याहूसँग वार्ता
पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ह्वाइट हाउस छाड्नुअघि इजरायल र हमासबीच युद्धविराम गराउने अमेरिकी राष्ट्रपति बाइडनको प्रयत्न

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग बन्धक रिहाइ र गाजा युद्धविराम सम्झौताबारे जानकारी लिनुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्ति अनुसार बाइडनले नेतान्याहूसँग युद्ध विराम सम्झौताको सम्बन्धमा जारी वार्ताको प्रगतिको बारे जानकारी लिनुभएको हो । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको ह्वाइट हाउसफर्कनु अघि इजरायल र हमासबीच युद्धविरामका लागि जोड दिन दुई बाइडनले नेतन्याहूसँग जानकारी लिनुभएको बताइएको छ ।

ट्रम्पले आफू ह्वाइट हाउस फर्कनु अघि हमासलाई बन्धक रिहाइ गर्न चेतावनी दिनुभएको छ । यस्तै बाइडन ह्वाइट हाउस छाड्नु अघि नै युद्ध विराम गर्न दुवै पक्षलाई दबाब दिइरहनुभएको बताइएको छ । गत वर्ष राष्ट्रपति बाइडनद्वारा प्रस्तावित र संयुक्त राष्ट्र सुरक्षा परिषद्‍द्वारा समर्थित योजनामा आधारित हाल कतारको राजधानी दोहामा युद्धविराम सम्झौता र बन्धक रिहाइबारे वार्ता जारी छ। बाइडनको दबाबपछि वार्तामा उच्चस्तरीय इजरायली प्रतिनिधिमण्डल सहभागी छन् ।

यस्तै वार्ताको क्रममा राष्ट्रपति बाइडनले लेबनानमा युद्धविराम, सिरियामा असद शासनको पतन र यस क्षेत्रमा इरानको प्रभावमा आएको परिवर्तनपछि बदलिएको क्षेत्रीय परिस्थितिलाई पनि प्रकाश पार्नुभएको सीएनएनले जनाएको छ । यस क्रममा उहाँले गाजामा युद्धविराम, बन्धक रिहाइ र मानवीय सहायता बढाउने विषयमा जोड दिनुभएको छ ।

यसैबीच, प्रधानमन्त्री नेतान्याहूले दोहामा रहेको आफ्नो वार्ता टोलीलाई दिइएको जनादेशको बारेमा बाइडनलाई जानकारी गराउनुभएको छ । उहाँले युद्ध विराम अभियानमा सहयोग गरेकोमा राष्ट्रपति बाइडन र नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको छ । यसअघि २०२४ मा, कतारको मध्यस्थतामा २४ नोभेम्बर देखि १ डिसेम्बर सम्म एक हप्ता लामो युद्धविराम लागू भएको थियो । वार्ता जारी रहँदा भने इजरायलले गाजामा हमासलक्षित आक्रमण भने जारी राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement