अमेरिकाले थप गर्‍यो ९ लाख आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा अवधि

पुस २७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले थप गर्‍यो ९ लाख आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा अवधि

काठमाडौं । अमेरिकाले आफ्नो मुलुकमा बसोबास गर्ने ९ लाख आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा (टीपीएस)को अवधि विस्तार गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनबाटै आप्रवासीलाई डिपोर्ट गर्ने प्रतिबद्धता व्यक्त गरेपछि जो बाइडन प्रशासनले कार्यकालको १० दिन बाँकी रहँदा यस्तो कदम चालेको हो ।

बाइडन प्रशासनले घोषणा गरेको टेम्पोररी प्रोटेक्शन स्ट्याटस (टीपीएस) अर्थात् अस्थायी निर्वासन सुरक्षा अमेरिकामा बसोबास गर्दै आएका एल साल्भाडोर, सुडान, युक्रेन र भेनेजुएलाका नागरिकमा लागू हुने सीएनएनले जनाएको छ । ती मुलुकका नागरिकका लागि अस्थायी सुरक्षा अगामी वसन्तमा समाप्त हुँदै छ । म्याद सकिएदेखि अर्को १८ महिनासम्मका लागि वर्क पर्मिटका साथ अमेरिकामा रहन अनुमति प्रदान गरिने बताइएको छ ।

गृह सुरक्षा विभागका अनुसार बाइडन प्रशासनको नयाँ निर्णयले लगभग २ लाख ३२ हजार साल्भाडोरियन, १ हजार ९ सय सुडानी, १ लाख ४ हजार युक्रेनी र ६ लाख भेनेजुएलाका नागरिकलाई राहत हुने बताइएको छ । आप्रवासी अधिवक्ता र डेमोक्र्याटिक सांसदहरूले ट्रम्पले पदभार ग्रहण गर्दा आफ्नो सुरक्षा र देशले काम गर्ने क्षमता गुमाउने डरले अमेरिकामा रहेका आप्रवासीलाई निर्वासन सुरक्षा अवधि थप गर्न बाइडन प्रशासनलाई आग्रह गरिरहेका थिए । लगत्तै बाइडन प्रशासनले ती मुलुकका नागरिकको निर्वासन सुरक्षा अवधि थप गर्ने घोषणा गरेको सीएनएनले जनाएको छ । हाल टीपीएस अन्तर्गत १० लाख आप्रवासी अमेरिकामा बसोवास गर्दै आएका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा एल साल्भाडोर लगायत अन्य देशका नागरिकलाई प्रदान गरिएको निर्वासन सुरक्षालाई समाप्त गर्न प्रयास गर्दा उहाँले कानुनी चुनौतीको सामना गर्नुपरेको थियो । ट्रम्पले जनवरी २० मा शपथ लिँदै हुनुहुन्छ ।



Enter Kantipur TV HD
Advertisement