काठमाडौं । युक्रेनी सेनाले उत्तर कोरियाका दुई घाइते सैनिकलाई रूसको कुर्स्क क्षेत्रबाट युद्धबन्दीका रूपमा बन्धक बनाएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । दुवै बन्दीले आवश्यक चिकित्सकीय सहायता प्राप्त गरिरहेको र उनीहरू युक्रेनको गुप्तचर सेवा ‘सेक्युरिटी सर्भिस अफ युक्रेन-एसबीयू’ को नियन्त्रणमा रहेको जेलेन्स्कीले बताउनुभएको छ ।
एसबीयूले जनवरी ९ मा समातिएका ती दुवै सैनिकलाई जेनेभा सन्धि अनुसार आवश्यक सबै चिकित्सकीय सेवा उपलब्ध गराउनुका साथै राजधानी किएभ ल्याइएको जनाएको छ । बन्दीहरूले युक्रेनी, अंग्रेजी वा रूसी भाषा बोल्न नजानेको र उनीहरूसँग दक्षिण कोरियाली गुप्तचर सेवा एनआईएसको सहयोगमा दोभाषेका माध्यमबाट संवाद गरिएको जनाइएको छ । समातिएका दुईमध्ये एक जनाले २०१६ देखि र अर्कोले २०२१ देखि उत्तर कोरियली सेनामा काम गर्दै आएको जनाइएको छ । तीमध्ये एक जनासँग रूसी परिचयपत्र भएको र उनले आफू युक्रेन विरुद्ध लड्न नभई तालिमका लागि आएको बताएको एसबीयूले जनाएको छ ।
उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धमा सघाउन आफना करिब ११ हजार सैनिक रूस पठाएको युक्रेन र अमेरिकाले दावी गर्दै आएका छन् । गत वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन विरुद्धको युद्धमा रूसले उत्तर कोरियाली सेनाको प्रयोग गरिरहेको सम्बन्धमा एक पत्रकारले प्रश्न सोधेकोमा उहाँले त्यसलाई नकार्नुभएको थिएन । रूसले २०२२ को फेब्रुअरी २४ मा युक्रेनमाथि अतिक्रमण सुरू गरेको थियो भने त्यसयता दुवैतर्फका गरी हजारौं सैनिक मारिइसकेका छन् ।
रूस विरुद्ध युद्धमा लडन अमेरिका र पश्चिमा राष्ट्रले युक्रेनलाइ अर्बौं डलरको सैन्य सहायता गरिरहेका छन् ।