भारतमा भोलिदेखि महाकुम्भ मेला

पुस २८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
भारतमा भोलिदेखि महाकुम्भ मेला

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भोलिदेखि महाकुम्भ मेला सुरू हुँदै छ । प्रयागराजमा तीन नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगम रहेको मानिन्छ ।

यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रही आएको छ । कुम्भ मेला हिन्दू संस्कृति, अध्यात्म र आस्थाको प्रतीक मानिन्छ भने हरेक १२ वर्षमा महाकुम्भको आयोजना हुने गर्दछ ।

१३ जनवरी अर्थात भोलिदेखि सुरू हुने महाकुम्भ ६ साता अर्थात् २६ फेब्रुअरीसम्म चल्नेछ । संगममा स्नान गर्न यो ६ साताको अवधिमा ४० करोडभन्दा बढी मानिस प्रयागराज पुग्ने अनुमान गरिएको छ । महाकुम्भ मेलामा ठूलो संख्यामा साधु सन्त तथा सिद्धपुरुषहरूको उपस्थिति हुने गर्दछ ।

पौराणिक कथा अनुसार समुद्र मन्थनपछि निस्किएको अमृतको घडा आफनो कब्जामा लिन देवता र राक्षसबीच १२ दिनसम्म युद्ध चलेको थियो भने सो युद्धका क्रममा प्रयागराज, हरिद्वार, उज्जैन र नाशिक शहरमा अमृतका चार थोपा खसेको थियो । सोही मान्यता अनुसार पालैपालो गरी प्रत्येक तीन–तीन वर्षमा यी शहरमा कुम्भ मेला आयोजना गर्ने गरिन्छ । त्यसमध्ये प्रत्येक १२ वर्षमा पर्ने कुम्भ मेलालाई महाकुम्भ मेला भन्ने गरिन्छ ।

नदीको तटीय क्षेत्रमा रहेको चार हजार हेक्टर खुला भूमिलाई एक अस्थायी शहरका रूपमा परिणत गरिएको, एक लाख पचास हजार टेन्ट स्थापना गरिएको र ती टेन्टमा तीन लाख भान्छा कोठा, एक लाख ४५ हजार बाथरूम र ९९ वटा पार्किङ लट स्थापना गरिएको रोयटर्सले जनाएको छ ।

कुम्भ मेला भर्न आउने श्रद्धालुहरूको आवागमन सहज बनाउन भारतीय रेलवेले ९८ वटा विशेष रेल सेवा थप गरेको जनाइएको छ । यसैगरी सुरक्षा व्यवस्थाका लागि ४० हजार प्रहरी परिचालन गरिनुका साथै कृत्रिम बौदि्धकता (एआई)को प्रयोग गर्दै चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको जनाइएको छ । यस्तै आपत्‌कालीन स्वास्थ्य सेवाका लागि जल, थल र हवाई एम्बुलेन्सको व्यवस्था गरिएको जनाइएको छ ।

महाकुम्भ आयोजनाका लागि राज्य सरकारले ६४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कुम्भ मेला भर्न एप्पलका सहस‌ंस्थापक तथा दिवंगत अर्बपति अमेरिकी व्यवसायी स्टीभ जब्सकी पत्नि लउरेन पावेल जब्स पनि भारत आइपुग्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement