कोशी ब्यारेजमा पौषशुक्ल पूर्णिमाको अवसरमा कोशी स्नान र मेला

पुस २९, २०८१ |आरएन विश्वास
कोशी ब्यारेजमा पौषशुक्ल पूर्णिमाको अवसरमा कोशी स्नान र मेला

सप्तरी । आज पौषशुक्ल पूर्णिमा अर्थात् माघ स्नान आजदेखि सुरु भएको छ । पौषशुक्ल पूर्णिमाको दिन आज सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको।

सप्तकोशी नदीमा स्नान गरी मेला भर्न आउनेहरुको आज बिहानदेखि भीड लागेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदहस्थित कोशी ब्यारेज, हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका-६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानहरुमा आज कोशी स्नान र मेला भर्नेहरुको संख्या बढी छ ।

सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेकका ठाउँमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरि नै घुइँचो लाग्ने छ । 

यो दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरु खाने प्रचलन छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद बिक्री हुने गरेको छ । सप्तरीको १८ वटा पालिकाहरुमध्ये कोशी क्षेत्रका अधिकांश पालिकाहरुले आज स्थानीय बिदासमेत दिएका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement