हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै तेलअभिभमा प्रदर्शन

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै तेलअभिभमा प्रदर्शन

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलको तेल अभिभमा हजारौं इजरायली नागरिकले प्रदर्शन गरेका छन् ।

हमासले हालै जारी गरेको नयाँ बन्धक रिहाइ सूचीमा नेपाली विद्यार्थी जोशीको नाम समावेश नगरिएपछि यो प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा प्रदर्शनकारीले बिपिन जोशीको तस्विर भएको प्लेकार्ड बोकेको देख्न सकिन्छ । २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीको रिहाइको माग गर्दै तेल अभिभमा ठूलो संख्यामा इजरायलीले प्लेकार्ड बोकेर प्रार्थना र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको रूपमा डनल्ड ट्रम्पको शपथ ग्रहण समारोहअघि यो अन्तिम प्रदर्शन हुने प्रदर्शनकारीहरूको आशा छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । यसअघि नै दुवै पक्षबीच युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडन प्रशासनले निरन्तर दबाब दिइ रहेको छ ।

बाइडन प्रशासनको दबाबपछि हाल कतारको दोहामा हमास र इजरायलका प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ । अनुकूल वातावरण सिर्जना गर्न हमासले बन्धक बनाइएका ३४ जनाको सूची सार्वजनिक गरेको छ । तर, विपिन जोशीको नाम सूचीमा समावेश छैन । 

प्रदर्शनका बेला इजरायलका लागि अमेरिकी राजदूत ज्याक ल्यू, बेलायती राजदूत साइमन वाल्टर्स, जर्मन राजदूत स्टेफेन सेइबर्ट र नेपाली राजदूत प्रोफेसर धनप्रसाद पण्डितलगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement