भक्तपुरको हनुमानघाटमा माधव नारायण व्रत मेला सुरु

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 भक्तपुरको हनुमानघाटमा माधव नारायण व्रत मेला सुरु

भक्तपुर । भक्तपुरको हनुमानघाटमा आजबाट एक महिनासम्म लाग्ने माधव नारायण व्रत मेला सुरु भएको छ । नेपाल संवत् ७ सय २२ देखि सुरु भएको यो व्रत भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर मनाइने प्रसिद्ध माधवनारायण मेला आजदेखि सुरु भएको हो । राज रणजित मल्ल आफैले सुरु गरेको यो व्रत मेला काठमाडौंको साँखुको श्रीस्वस्थानी व्रत मेलाभन्दा पुरानो भएको पुजारी सरोजन शर्माले बताउनुभयो ।

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत मेला भक्तपुर हनुमानघाटमा स्थानीयहरु एक महिनासम्म कठोर व्रत बस्ने गर्दछ । माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

व्रतालु महिलाहरु यही बसे पनि पुरुषहरु भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने र व्रतालु महिलासँगै विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने गर्दछन् । व्रतालुहरुले एक महिनामा विभिन्न मठमन्दिर र त्रिवेणी नदीको दर्शन गरी माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ । यस वर्ष माधव नारायण व्रत बस्ने व्रतालुको सख्यामा कमी आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement