काठमाडौं । अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित जंगलमा मंगलबारदेखि लागेको भीषण डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृतकको संख्या अझै बढ्ने अधिकारीहरूले जनाएका छन् ।
लस एन्जलसको प्यालिसेड्स क्षेत्रमा भएको आगलागीमा पाँच जनाको र अन्य क्षेत्रमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्र पहिचान भएको छ । लस एन्जलसका पाँच क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू अथक प्रयास गरिरहेका छन् । आगलागीका कारण अहिलसम्म दशौं हजार घर र भौतिक संरचना जलेर नष्ट भएको बताइएको छ ।
यसैबीच प्रहरीले खाली छाडिएका घरहरूबाट सामान लुटेको आरोपमा कम्तीमा २० जनालाई गिरफ्तार गरेको छ भने आगलागी प्रभावित क्षेत्रमा रातको समय कर्फ्यु लगाइएको छ ।
आगलागीले सबैभन्दा बढी प्यालिसेड्समा २० हजार एकडभन्दा बढी क्षेत्र प्रभावित भएको छ। अहिलेसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आइसकेको छ । १४ हजार एकड क्षेत्रफल जलेको इटन क्षेत्रमा तीन प्रतिशत मात्र आगो नियन्त्रणमा आएको बीबीसीले जनाएको छ।
यसैबीच, केनेथमा एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा आएको छ । आगलागीका कारण करिब ५० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।