काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका कार्यालयमा रहँदा ठेकदारहरूसँग मिलेमतोमा कमिसन लिई गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले श्रेष्ठ विरुद्ध चार करोड ८८ लाखभन्दा बढी मागदाबी सहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारका सदस्यको नाममा समेत राखेकाले श्रेष्ठका परिवारका सदस्यहरूलाई समेत प्रतिवादी बनाएर आयोगले आरोपपत्र दायर गरेको छ ।