काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले छ महिना लामो चुनावी विवादपछि अन्ततः तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । १२ वर्षसम्म एकछत्र शासन गर्नुभएका मदुरोको कार्यकाल आर्थिक र सामाजिक संकटले भरिए पनि उहाँले पुनः तेस्रो कार्यकालका लागि शपथ लिनुभएको हो ।
२०१३ देखि राष्ट्रपति रहेका मदुरोलाई भेनेजुयलाको निर्वाचन अधिकारी र सर्वोच्च अदालतले जुलाईको चुनावको विजेता घोषित गरेपछि उहाँको पुनः राष्ट्रपति बन्ने बाटो खुलेको हो । तर उहाँको विजयको पुष्टि गर्ने विस्तृत तथ्याङ्क भनै कहिल्यै प्रकाशित गरिएन । विपक्षीले मतपत्रको तथ्याङ्कले उहाँका प्रतिस्पर्धी उम्मेदवार एडमन्डो गोन्जालेज भारी मतले विजयी भएको देखाए पनि मदुरोले नै अन्ततः राष्ट्रपतिको शपथ ग्रहण गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षकले मतदान लोकतान्त्रिक नभएको आरोप लगाएका छन् । चुनावपछि मदुरो सरकारले विपक्षी नेता गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले गोन्जालेज स्पेनमा शरण लिएर बस्नुभएको छ भने उहाँकी सहयोगी मारिया कोरिना माचाडो भेनेजुयलामै लुकेर बस्नुभएको छ । यसैबीच अमेरिकी जो बाइडन प्रशासनले लागुऔषध ओसारपसारको आरोपमा मदुरोलाई पक्राउ वा दोषी ठहराउन मद्दत गर्ने विषयमा जानकारी दिने व्यक्तिलाई साढे दुई करोड अमेरिकी डलर पुरस्कार दिने बताएको छ ।
यसअघि बाइडन प्रशासनले मदुरोलाई पक्राउ गर्न सघाउने व्यक्तिलाई साढे एक करोड दिने भनेको राशी बढाएर साढे दुई करोड अमेरिकी डलर पुर्याएको हो ।
यस्तै बाइडन प्रशासनले आन्तरिकमन्त्री डीओस डाडो काबेलोको जानकारी दिनेलाई साढे दुई र रक्षा मन्त्री भ्लादिमिर पाद्रिनोको जानकारी दिनेलाई साढे एक करोड अमेरिकी डलर दिने बताएको छ । अमेरिकाले २०२० मा मदुरोसहित अन्य व्यक्तिलाई लागुऔषध र भ्रष्टाचारको आरोपमा अभियोग लगाएको थियो । मदुरोले भने ती आरोप अस्वीकार गर्दै आउनुभएको छ ।