ट्रम्पलाई ३४ वटा आरोपमा बिना शर्त छुट दिने अदालतको फैसला

पुस २७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पलाई ३४ वटा आरोपमा बिना शर्त छुट दिने अदालतको फैसला

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पलाई ‘हस मनी’ सम्बन्धी फौजदारी मुद्दामा राहत मिलेको छ ।

‘हस मनी’ सम्बन्धी मुद्दाका ३४ वटा आरोपमा ट्रम्पलाई बिना शर्त छुट दिने न्यूयोर्कको म्यानहटन अदालतका न्यायाधीश जुआन मर्चनले आदेश दिनुभएको हो । अदालतले जरिवाना र जेल सजाय विनै मुद्दामा सफाइ दिँदै ट्रम्पको पक्षमा फैसला सुनाएको छ ।

गत सातामात्रै सो मुद्दा हेरिरहेका न्यायाधीश मर्चनले ट्रम्पलाई जेल सजाय नतोक्ने संकेत गर्नुभएको थियो । मर्चनले फैसला सुनाउने क्रममा ट्रम्पलाई दोस्रो कार्यकालका लागि शुभकामनासमेत दिनुभएको छ । ट्रम्पलाई विना शर्त छुट दिए पनि अदालतको स्थायी दस्तावेजमा ट्रम्पको नाम दोषीको सूचीमा उल्लेख गरिने बताइएको छ ।

बसहका क्रममा भिडियो कन्फेरेन्सिङ मार्फत उपस्थित भएका ट्रम्पले आफूमाथि लगाइएको मुद्दा राजनीतिबाट प्रेरित भएको दाबी गर्नुभएको थियो । सन् २००६ मा अश्लील चलचित्रकी अभिनेत्री स्टोर्मी डयानियलले ट्रम्पसँग यौन सम्पर्क गरेको दाबी गर्नुभएको थियो ।

डयानियललाई आफूसँगको सम्बन्धबारे मुख नखोल्न २०१६ मा आफ्ना वकिलमार्फत एक लाख ३० हजार डलर दिएको र सो रकम हस्तान्तरणलाई खातामा झुट्ठा विवरण देखाएर लुकाएको विषयमा ३४ प्रकारका आरोपमा न्यूयोर्क अदालतले अघिल्लो वर्षको मेमा ट्रम्पलाई दोषी ठहर गरेको थियो । 

ट्रम्पले भने डयानियलसँगको यौन सम्पर्कको विषयलाई अस्वीकार गर्दै आउनुभएको थियो । ट्रम्प अमेरिकी इतिहासमा फौजदारी मुद्दा भोग्ने पहिलो राष्ट्रपति हुन् । ट्रम्पले आगामी साता राष्ट्रपति पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । उक्त मुद्दामा ट्रम्पले राहत पाउनुको अर्थ उहाँको दोस्रो पटक ह्वाइट हाउसको पुनरागमनमा कुनै पनि अड्चन नआउने बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement