अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको आवेदन अस्वीकृत

पुस २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको आवेदन अस्वीकृत

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ‘हस मनी’ सम्बन्धी फौजदारी मुद्दामा न्यूयोर्क अदालतले आफू विरुद्ध शुक्रबार सुनाउने भनिएको सजाय तत्कालका लागि रोक्न गरेको आवेदनलाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । सर्वोच्च अदालतको नौ सदस्यीय इजलासले चारका विरुद्ध पाँच मतले ट्रम्पको आवेदन अस्वीकृत गरेको हो ।

सर्वोच्चले आफ्नो अन्तिम निर्णय सुनाउनुअघि न्यूयोर्कका तीन बेग्लाबेग्लै अदालतले पनि सजायको मिति सार्ने ट्रम्पको आग्रहलाई अस्वीकृत गरेका थिए । ट्रम्पले सर्वोच्च अदालतको धारणाको आफूले सम्मान गर्ने प्रतिक्रिया दिनुभएको छ ।

न्यूयोर्कको म्यानहटन अदालतले ट्रम्पले अश्लील चलचित्रकी अभिनेत्री स्टोर्मी डयानियललाई आफूसँगको सम्बन्धबारे मुख नखोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको र सो रकम हस्तान्तरणलाई खातामा झुटा विवरण देखाएर लुकाएको विषयमा दोषी ठहर गरेको थियो । ३४ प्रकारका आरोपमा दोषी ठहर गरे पनि अदालतले अझै त्यस विषयमा कुनै सजाय तोकिसकेको छैन ।

गत सातामात्रै सो मुद्दा हेरिरहेका न्यायाधीशले ट्रम्पलाई जेल सजाय भने नतोक्ने बताउनुभएको थियो । अघिल्लो वर्षको मेमा न्यूर्योक अदालतको न्यायमण्डल जुरीले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको थियो ।

ट्रम्पले २०१६ मा पहिलो पटक राष्ट्रपतीय निर्वाचन लड्दा आफूबारे मुख नखोल्न स्टोर्मी ड्यानियललाई आफ्ना वकिल मार्फत् उक्त रकम दिनुभएको थियो भने सो रकमलाई कानुनी खर्चका रूपमा खातामा देखाइएको थियो ।

ड्यानियलले सन् २००६ मा ट्रम्पसँग यौन सम्पर्क भएको दाबी गर्दै आएकामा ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आउनुभएको छ । ट्रम्पले १० दिनपछि राष्ट्रपति पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।



Enter Kantipur TV HD
Advertisement