लेबनानी संसद्‌द्वारा सेना प्रमुखलाई राष्ट्रपतिमा निर्वाचित

पुस २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
लेबनानी संसद्‌द्वारा सेना प्रमुखलाई राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । लेबनानको संसद्ले सेना प्रमुख जोजेफ आओनलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ । १२८ सदस्यीय संसद्‌मा भएको दोस्रो चरणको मतदानमा आओनले ९९ मत पाउनुभएको थियो ।

पहिलो चरणको मतदानमा भने आओनले राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक पर्ने दुईतिहाइ अर्थात ८६ मत नपाएर जम्मा ७७ मत पाउनु भएको थियो । अमेरिका समर्थित सेना प्रमुख राष्ट्रपति पदमा निर्वाचित हुनुलाई इजरायलसँगको विनाशकारी युद्धपछि लेबनानको इरानसमर्थित हिजबुल्लाह समूहको प्रभाव कम भएको देखाएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले टिप्पणी गरेका छन् ।

आओनको निर्वाचनले लेबनान र मध्यपूर्वमा शक्ति सन्तुलन अर्कोतर्फ ढल्केको र इरान तथा हिजबुल्लाहको प्रभावका कारण छायामा परेको साउदी अरबको भूमिका पुनर्जीवित भएको संकेत गरेको रोयटर्सले उल्लेख गरेको छ । सिरियामा राष्ट्रपति बसर अल असदको सत्तापतन पनि शिया इश्लामिस्ट राजनीतिक दल तथा अर्ध सैनिक समूह हिजबुल्लाहको प्रभाव कम हुनुको एक कारकका रूपमा देखिएको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि बोल्दै आओनले इजरायली सेनाको आक्रमणका कारण ध्वस्त भएको देशको दक्षिणी र अन्य भूभाग पुनःनिर्माण गर्ने र थप इजरायली आक्रमण हुनबाट देशलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

लेबनानमा दुई वर्षभन्दा बढी समयदेखि राष्ट्रपति पद रिक्त रहँदै आएको थियो । ६० वर्षीय आओन देशको राष्ट्रपति पदमा निर्वाचित हुने लेबनानी सेनाको पाँचौं कमान्डर हुनुहुन्छ । लेबनानको साम्प्रदायिक सत्ता भागबन्डा प्रणालीमा राष्ट्रपति पद म्यारोनाईट क्रिस्चियनका लागि र प्रधानमन्त्री पद सुन्नी मुस्लिमका लागि संरक्षित रहने व्यवस्था रहँदै आएको छ ।



Enter Kantipur TV HD
Advertisement