काठमाडौं । रुसले दक्षिणी युक्रेनी शहर जापोरिजियामा गरेको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ३२ जना घाइते भएका छन् ।
रूसले दुई निर्देशित ‘एरियल बम’ले आक्रमण गर्दा आवासीय भवनसमेत ध्वस्त भएको जापोरिजियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभले जनाउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगीलाई रुसको आतंकवादी गतिविधिविरुद्ध दबाब दिन अपिल गर्नुभएको छ । आवासीय भवनहरु लक्षित आक्रमण गर्नुअघि रुसले ’दुई औद्योगिक एकाइहरू’ लाई लक्षित गर्दै आक्रमण गरेको थियो । युक्रेनमाथि भएको पछिल्लो आक्रमणका विषयमा रुसी सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।
उता युक्रेनले भने सैन्य हवाई क्षेत्र आपूर्ति गर्ने रूसी तेल डिपोमा आक्रमण गरेको आरोप लगाएको छ । रुसी सेनाले कुस्र्क क्षेत्रमा आफ्नो कारबाही जारी राखेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।
यसैबीच युक्रेनको राजधानी किएभको भ्रमणमा रहनुभएका फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनले भविष्यमा हुने कुनै पनि रूसी आक्रमणविरुद्ध युक्रेनले प्राप्त गर्न सक्ने एक मात्र ‘विश्वसनीय’ सुरक्षा ग्यारेन्टी नेटोको सदस्यता रहेको स्पष्ट पार्नुभएको छ ।