काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरमा दर्शन गर्नका लागि टोकन लिने क्रममा भएको भागदौडमा परी कम्तीमा ६ जना श्रद्धालुको मृत्यु भएको छ । बुधबार राति अबेर भएको उक्त घटनामा करीब २५ जना घाइते भएको जनाइएको छ ।
१० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको संख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको हो । काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेको र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय समाचारमाध्यमले जनाएका छन् ।
केही श्रद्धालुहरूले भने प्रहरीको लापरवाहीका कारण घटना भएको जनाएका छन् । दर्शनका लागि टोकन लिने लाइनमा करिब चार हजार मानिस लाम लागेको जनाइएको छ । वैकुण्ठद्वार दर्शन भोलि शुक्रबार १० जनवरी देखि १९ जनवरीसम्म खोलिने जनाइएको छ ।