लस एन्जसलमा भीषण आगलागी, पाँच जनाको मृत्यु, सयौं घर ध्वस्त

पुस २५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
लस एन्जसलमा भीषण आगलागी, पाँच जनाको मृत्यु, सयौं घर ध्वस्त

काठमाडौं । अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको भीषण आगोले थप भयावह रूप लिइरहेको र आगो शून्य प्रतिशत पनि नियन्त्रणमा नआएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन् ।

मंगलबारदेखि आगलागी हुँदा अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने थुप्रै मानिस घाइते भएको जनाइएको छ । यस्तै, सयौं घर आगोले डढेर ध्वस्त भएका छन् । 

लस एन्जलस काउन्टीका पाँच भिन्न स्थानमा भीषण डढेलो लागेको र आगो नियन्त्रणका लागि जुटेका अग्निनियन्त्रकहरूले पानीको अभावको सामना गर्नु परिरहेको जनाइएको छ । आगोका कारण करिब डेढ लाख मानिस आफ्नो घर छाडन बाध्य भएको जनाइएको छ । 

इटन क्षेत्रबाट मात्रै एक लाख मानिस घर छाड्न बाध्य भएको जनाइएको छ । यस्तै प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट ३७ हजार मानिस विस्थापित भएका छन् । 

मंगलबार पहिलो डढेलो सल्किएको प्यालिसेड्स क्षेत्र लस एन्जलसकै इतिहासको सबैभन्दा क्षतिग्रस्त क्षेत्र बन्न पुगेको अधिकारीहरूले जनाएका छन् । प्यालिसेड्स क्षेत्रमा एक हजारभन्दा बढी संरचना डढेर ध्वस्त भएको जनाइएको छ । विमान र दमकलले आगो निभाउने प्रयास गरे पनि सुक्खा मौसम र १६० किलोमिटरसम्मको तीव्र हावाले आगो थप फैलिरहेको र नियन्त्रणमा आउन नसकेको जनाइएको छ । 

आगलागीलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द गरिएका छन् । आगलागीका कारण दक्षिण क्यालिफोर्नियाका चार लाखभन्दा बढी आवास र व्यवसायमा विद्युत् आपूर्ति अवरुद्ध रहेको रोयटर्सले उल्लेख गरेको छ ।



Enter Kantipur TV HD
Advertisement