काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासलाई तत्काल बन्धकहरू रिहा गर्न पुनः चेतावनी दिनुभएको छ ।
फ्लोरिडास्थित निवासमा ट्रम्पले सबै बन्दीलाई जनवरी २० मा आफ्नो शपथ ग्रहण अगावै रिहा नगरिए मध्यपूर्वमा सबै बर्बाद हुने आफ्नो पुरानो चेतावनी दोहोर्याउनु भएको हो । बन्दीहरू रिहा नभए हमास मात्र नभई कसैका लागि राम्रो नहुने ट्रम्पले स्पष्ट पार्नुभएको छ ।
गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइलाई बहिर्गमनउन्मुख अमेरिकी राष्ट्रपति जो बाइडेन र ट्रम्प दुवैले प्राथमिकतामा राखेका छन् । हमासको कब्जामा अझै पनि करिब एक सय बन्दी रहेको अनुमान गरिएको छ ।